दशैँ तिहारका सामान नाकामै अलपत्र, चीनको सर्तले समस्या

 असोज ११, २०७७ आइतबार ८:१:३२ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - दशैँ सुरु हुन एक महिना पनि बाँकी छैन । कोरोना महामारी नभएको भए यतिबेला बजारमा किनमेलको चहलपहल सुरु भइसकेको हुन्थ्यो । दशैँ तिहार आउनु दुई महिनाअघि नै नेपाली व्यापारी चीन पुग्थे, सर-सामग्री अर्डर गर्थे र एक महिनाअघि नै नेपाल भित्र्याइसक्थे । 

तर यसपाली अवस्था यस्तो छैन । दशैँ तिहारका लागि चीनबाट आउने सर-सामान नाकामै रोकिएका छन् । नेपाल ल्याउन अर्डर गरेका लत्ताकपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक सामग्री चीनको केरुङमा रोकिएका हुन् ।

केरुङबाट रसुवागढी नाका हुँदै चिनियाँ सामग्री नेपाल भित्रने गरेको छ । तर अत्यावश्यक स्वास्थ्य सामग्रीबाहेक अरु सामग्री रसुवागढीबाट ल्याउन हम्मेहम्मे भइरहेको छ । रसुवागढी नाकाबाट ९ महिनादेखि आयात हुन सकेको छैन ।

नेपालका व्यापारीको धेरै सामग्री केरुङमै अलपत्र

कोरोना भाइरसको सङ्क्रमणका कारण चीनले गएकाे माघ १५ गतेदेखि नाका बन्द गरायो । नेपालमा पनि गएको चैत ११ गतेदेखि लकडाउन भयो । कोरोना महामारी र सङ्क्रमण जोखिमकै कारण व्यापार व्यवसाय समेत ठप्प भए । यसपालि तीजमा पनि चीनबाट ल्याउनुपर्ने सामग्री नेपाल आएनन् ।

चीनले रसुवागढी नाका गएकाे असार २२ गते दुई हप्ताका लागि खोलेको थियो । तर जोखिमकै कारण अत्यावश्यक स्वास्थ्य सामग्रीबाहेक अरु सामान ल्याउन नसक्दा नेपालका व्यापारीका धेरै सामग्री केरुङमै अलपत्र छन् । चीनले रसुवागढी नाकाबाट गएको बुधबारदेखि सामग्री आयात सुरु गरेको छ ।

तर कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सिधै सामग्री आउँदैन । चिनियाँ ट्रकले मितेरी पुलमा ल्याएर सामान झार्ने र त्यहाँबाट नेपाली कन्टेनरले ल्याउने गर्छन् । मितेरी पुलमा झारेको सामग्री नेपाली कन्टेनरले ल्याउनपर्ने भएकाले समस्या हुँदै आएको छ ।

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार अहिले दैनिक पाँच वटा चिनियाँ ट्रकले सामग्री ल्याउने छन् । यही परिमाणमा सामग्री आए दशैँ तिहारका लागि आयात गर्न लागिएका सामग्री पनि समयमै नआउने चिन्ता बढेको उहाँले बताउनुभयो ।

झण्डै १२/१५ सय ट्रक सामान चीनतर्फ अड्किएको व्यापारीले जानकारी गराएका पनि उहाँले बताउनुभयो । व्यवसायीले तीजका लागि अर्डर गरेका सामानदेखि दशैँ, तिहारका सामान पनि नाकामै अड्किएको छ ।

नाकामा चीनका सर्तैसर्त

​​नाका सहज हुँदा दैनिक ३० कन्टेनर सामान नेपाल भित्रने गरेको थियो । तर चीनबाट अहिले दैनिक ४/५ कन्टेनर मात्रै सामग्री नेपालतर्फ आउने गरेको छ । लकडाउनका बेला रोकिएका सामान ल्याउन दैनिक ४/५ कन्टेनरले मात्रै हुँदैन ।

नेपालले कन्टेनरको संख्या बढाउन चिनियाँ पक्षलाई भन्दै आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो । कन्टेनर बढाउन नेपालले अनुरोध गरेपछि चीनका अधिकारीले कामदारको कोरोना परीक्षण, सामान राख्ने ठाउँ बढाउन (भन्सारमा यार्ड) बढाउन भनेका छन् । 

चीनले राखेका सर्त पालना गर्न समस्या

नेपालले तत्काल भन्सारमा यार्ड बढाउन सक्ने अवस्था छैन । अहिले पनि मितेरी पुलमा ल्याएर सामान झार्नुपर्ने बाध्यता छ । त्यो पुलमा लोड क्षमताभन्दा धेरै सामान झार्न सक्ने पनि अवस्था छैन । त्यसैगरी नेपालमा कोरोना सङ्क्रमित बढ्दै गएकाले विश्वासको संकट कायमै रहेको प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो ।

त्यस्तै १४/१४ दिनमा कामदारको कोरोना परीक्षण गर्न पनि समस्या छ । उनीहरुको स्वाब सङ्कलन गरेर काठमाण्डौ पठाउनुपर्ने र रिपोर्ट आउन ढिला हुने गरेको छ । यसअघि नेपालले सामान लोडअनलोड गर्ने झण्डै ३० जना कामदारको कोरोना परीक्षण गर्दा एक जनामा पोजेटिभ देखिएपछि अरु कामदार पनि १४ दिन क्वरेण्टीन बस्नुपर्ने भएपछि काम रोकिएको थियो ।

‘उहाँहरुका कतिपय सर्त हामीले पालना गर्न नसक्दा दुई देशबीचको व्यापार नियमित हुन नसकेको हो’ प्रमुख भन्सार अधिकृत खड्काले भन्नुभयो, ‘अब मौसमले साथ दिए दुई सिफ्ट ८/८ घण्टा लगातार कामदारले काम गरे भने दैनिक १० कन्टेनर मात्रै ल्याउन सक्ने अवस्था छ ।’

रसुवागढी नाकामा व्यापार र भन्सार सहजीकरणको समस्या कायमै

२०७२ साल वैशाखको भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नेपालको चीनसँगको व्यापार रसुवागढी नाकाबाट हुँदै आएको छ । भूकम्पभन्दा ६ महिनाअघि २०७१ साल मंसिरमा रसुवागढी-केरुङ द्विपक्षीय नाकाका रुपमा सञ्चालनमा आएको थियो ।

नेपाल र चीनले २०७४ भदौमा रसुवागढी-केरुङलाई दुई देशको अन्तर्राष्ट्रिय नाका घोषणा गरेका छन् । तर चीनसँगको प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भने कायमै छ ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत खड्का भन्नुहुन्छ, ‘कोरोना सङ्क्रमण जोखिमकै कारण नाकामा सहज हुन सकेको छैन । नाका सहज बनाउन दुई देशका बीचमा विभिन्न तहमा प्रयास भने भइरहेका छन् । भर्चुअल बैठक र छलफलमा पनि चिनियाँ अधिकारीले छिट्टै सहज हुने प्रतिक्रिया दिँदै आएका छन् ।’

बुधबार नाका खोलेपछि खोपका सामग्री भने नेपाल भित्रिएका छन् । समस्या समाधानका लागि पहल गर्दा केरुङका भन्सार अधिकारीले यस विषयमा ल्हासा सरकारले नै निर्णय गर्नुपर्ने बताएको पनि खड्काले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया