सञ्जीव उप्रेतीको उपन्यास हंसलाई पद्मश्री साहित्य पुरस्कार र प्रश्रितलाई पद्मश्री सम्मान

 असोज ११, २०७७ आइतबार ८:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई दिने निर्णय गरेको छ ।

देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता, त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर ‘हंस’ उपन्यासमा प्रस्तुत गरिएको छ ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान विगत ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी तीन लाख रुपैयाँ रहेको छ । २०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर गरेका पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्म श्री साधना सम्मान प्रदान गर्दै आएको छ । दुवै सम्मान तथा पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिँदै आएकोमा यस पटक अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभएको छ ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया