भक्तपुरमा पीसीआर परीक्षणका लागि ‘भीटीएम’ किट अभाव

 असोज ११, २०७७ आइतबार ८:३७:१९ | रासस
unn.prixa.net

भक्तपुर - भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भीटीएम’ किटको अभाव भएको छ ।

वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले नाक तथा घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने पीसीआर किट ‘भीटीएम’ को अभावले कोरोना परीक्षण रोकिने अवस्थामा पुगेको जानकारी दिनुभयो ।

वाग्मती प्रदेश सरकारले परीक्षणका लागि ‘भीटीएम’ किट नपठाएपछि स्वाब सङ्कलन नै रोकिने अवस्थामा पुगेको उहाँको भनाइ छ । यसअघि कार्यालयले ल्याएको किट भक्तपुर अस्पताल, सूर्यविनायक, भक्तपुर र चाँगुनारायण नगरपालिकालाई वितरण गरेको तर अब किट दिन सक्ने अवस्थामा नभएको पनि प्रमुख मिजारले बताउनुभयो ।

कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा पनि किट अभाव भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिकाले भने केही दिनअघि मात्रै ४० लाख मूल्य बराबरको ‘भीटीएम’ किट खरिद गरेको छ ।

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आफ्नै ल्याबमा पीसीआर परीक्षण गर्दै आएकाले आवश्यक किट आफैँले खरिद गरेको अस्पतालका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया