गाउँ-गाउँमा स्कुल खुल्न थाले, सरकार अझै ‘पर्ख र हेर’को अवस्थामा

 असोज १२, २०७७ सोमबार ९:२२:१५ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - हुम्लाका तीन वटा गाउँपालिकाका ५१  वटा विद्यालयहरुमा पठन-पाठन सुरु भएको दुई महिना भइसकेको छ । कोरोना सङ्क्रमणमा कमी आएको भन्दै गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

उत्तरी नाम्खा तथा दक्षिणतिरका खार्पुनाथ र ताँजाकोट गाउँपालिकाका गरी ५१ विद्यालयमा साउन महिना लागेसँगै पढाइ सुरु भएको हो । खार्पुनाथ गाउँपालिकाले साउन ५ गतेदेखि गाउँपालिकाभित्रका १७ वटा विद्यालयमा पठनपाठन सुरु गरेको हो भने नाम्खा गाउँपालिकाले साउन ११ गतेदेखि १६ वटा विद्यालयमा पठनपाठन सुरु गरेको थियो ।

यस्तै ताँजाकोट गाउँपालिकाले साउन १५ गतेदेखि  १८ वटा विद्यालयमा पढाइ सुरु गरेको हो । ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले लामो समयको लकडाउनका कारण बन्द रहेका गाउँपालिकाका सबै विद्यालयहरुमा पठन-पाठन सुरु भएको बताउनुभयो । 

यस्तै सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले  पनि पढाइ सुरु गरेको छ । स्वास्थ्य मापदण्ड पालना र भौतिक दूरी कायम गरेर पढाउन थालिएको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिनुभयो । 

सबै विद्यार्थीलाई मास्क अनिवार्य र स्कुलको गेटमै स्यानिटाइजर तथा हात धुने व्यवस्था गरिएको छ । ७० जना क्षमताको कक्षा कोठामा २० जना मात्रै राखेर पढाइएको छ । एउटा बेन्चमा एक जना र झण्डै दुई मिटरको दूरी हुने गरी विद्यार्थीलाई बस्ने व्यवस्था गरिएको छ ।

बिहान, दिउँसो र बेलुका गरी तीन वटा सिफ्टमा कक्षा सञ्चालन गरिएको हो । दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा गएको असोज ४ गतेदेखि पठनपाठन संचालनमा आएका छन् ।

गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वटा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा पठन पाठन सुरु भएको हो । गाउँपालिकाले पहिलो चरणमा बाल विकास केन्द्रदेखि ५ कक्षासम्मको पठनपाठन सुरु गरेको हो । ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर संचालन गर्ने तयारी छ । 

धादिङ, गोरखा, लमजुङ, काभ्रे लगायतका केही ठाउँमा पनि भौतिक दूरी र अरु स्वास्थ्य मापदण्डको ख्याल गर्दै पठनपाठन सुरु भएको छ । कोरोना सङ्क्रमणको जोखिम नभएको ठाउँमा स्वास्थ्य मापदण्ड पालना गर्दै पढाइ सुरु गर्दा फरक नपर्ने भएपछि पालिकाहरुले स्कुल खोल्ने निर्णय गरेका हुन् ।

अहिलेकै अवस्थामा नियमित पठनपाठन सम्भव छैन : शिक्षा मन्त्रालय 

केही विद्यालयले पालिकासँगको समन्वयमा पठनपाठन सुरु गरे पनि सरकार भने अझै अलमलमा छ । अरु क्षेत्र र सेवा खोले पनि स्कुल, क्याम्पस खोल्ने निर्णय भैसकेको छैन । सङ्क्रमणको जोखिम नभएका ठाउँमा बिस्तारै स्कुल खोल्दा फरक नपर्ने विज्ञहरुले राय दिए पनि सरकारले नियमित पठनपाठनको अवस्था भइनसकेको जनाएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले सामान्य अवस्थामा जस्तै गरी अहिले पठनपाठन सम्भव नभएको बताउनुभयो । प्रवक्ता शर्माका अनुसार अहिले विभिन्न ठाउँहरुमा सिकाइ सहजीकरणका कार्यक्रमहरु भइरहेका छन् । शिक्षकहरुले विभिन्न माध्यमबाट बालबालिकालाई पढाइरहेका छन् । विभिन्न माध्यमहरुको प्रयोग गर्दै सिकाइ सहजीकरण भइरहेको छ । 

यस्तै विद्यार्थीको अभिलेख तयार गर्ने, विद्यार्थीको समूह छुट्याउने, अभिभावकसँग समन्वय गर्ने काम पनि भइरहेको छ । पहिले धेरै स्कुल तथा कलेजलाई आइसोलेशन र क्वरेण्टीन बनाइएको थियो । आइसोलेशन सेन्टर र क्वरेण्टीन बनाइएका स्कुलहरुलाई निर्मलीकरण गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।  साथै विद्यालय सञ्चालनको कार्यढाँचा पनि तयार भइसकेको छ । 

शैक्षिक क्यालेण्डर प्रभावित नहोस् भन्नका लागि सिकाइ सहजीकरण गरिएको उहाँले बताउनुभयो ।  यसको अर्थ जबसम्म नियमित रुपमा पठनपाठन सुरु हुँदैन यो नै मूल कार्यक्रमको रुपमा जान्छ भन्ने हो । अर्थात् वैकल्पिक रुपमा विभिन्न तरिकाले भइरहेको पठनपाठनलाई नै शैक्षिक सत्र मान्ने र यसैलाई नै आधार मानेर मूल्याङ्कन गरिने उहाँले बताउनुभयो । तत्काल स्कुल तथा कलेज नखुले पनि यसैलाई आधार मान्ने भएकाले शैक्षिक सत्र खेर नजाने उहाँको भनाइ छ ।  

नियमित रुपमा  विद्यार्थीको भौतिक उपस्थितिमा नै कहिलेदेखि पठनपाठन हुन्छ भन्ने कुरा भने छलफलकै क्रममा रहेको छ  । सङ्क्रमणको अवस्था हेरेर मात्रै निर्णय हुने प्रवक्ता शर्माले बताउनुभयो । विज्ञको सल्लाह लिएर अब कक्षाकोठामा पठनपाठन गर्न सकिन्छ है भन्ने भएपछि मात्र टुंगो लाग्ने उहाँको भनाइ छ ।

केही दिनअघि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले तत्काल स्कुल नखोल्नु निर्देशन दिनुभएको छ । मन्त्रीको निर्देशन स्कुल नै नखुल्ने भन्ने अर्थमा नभएको  प्रवक्ता दीपक शर्माको भनाइ छ । ‘सरकारले अर्को निर्णय नगरेसम्म नियमित पठनपाठन नगर्नु  भन्नुको अर्थ स्थितिको परीक्षण नगरीकन र विज्ञको सल्लाहबिना हतार गर्दा जोखिम निम्तिन सक्छ कि भन्ने हो’ उहाँले भन्नुभयो ।  

शिक्षा मन्त्रालयले वैकल्पिक विधिबाटै पठनपाठनलाई अगाडि बढाउने निर्णय यसअघि नै गरिसकेको छ । शैक्षिक सत्र खेर जान नदिनका लागि अहिले रेडियो, टेलिभिजन र अनलाइन लगायत वैकल्पिक विधिबाट भैरहेको सिकाइलाई नै  निरन्तरता दिने सरकारको तयारी हो । 

‘स्कुल नखुल्दासम्म विद्यार्थीहरूले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने र अनलाइन कक्षा लिनेमध्ये कुन-कुन विकल्प अपनाउन सकिन्छ, त्यही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनुपर्ने हुन्छ’ प्रवक्ता शर्माले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया