‘काेराेनाकाे जाेखिम बढिरहेकाे छ, उच्च सतर्कता अपनाएर सरकारलाई सहयाेग गर्नुस्’

 असोज १२, २०७७ सोमबार १९:२१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

काेराेनाकाे जाेखिम कम भएर लकडाउन खुकुलो पारिएकाे नभइ जीविका चलाउन सहज बनाइएको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था नरहेको बताउनुभयो ।

काठमाण्डाै उपत्यका लगायत विभिन्न जिल्लामा दिनदिनै सङ्क्रमण बढिरहेको अवस्थामा सबैले उच्च सतर्कता अपनाएर सरकारलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोना महामारी रोकिएको छैन । युरोपेली देशहरुमा दोस्रो वेभसमेत सामना गर्नुपरेको छ । नेपालमा सङ्क्रमण बढिरहेको छ । कुन विन्दुमा पुगेर ओरालो लाग्छ, नियन्त्रणमा जान्छ भनेर अनुमान गर्न सकिने अवस्था छैन । जोखिम कम भएर होइन, जीवन र जीविकाको बीचमा सन्तुलन मिलाउनुपर्ने आवश्यकताले केही सेवा क्षेत्र खुकुलो गरिएको हो । यो बेला सबैको उच्चस्तरको सतर्कता अपनाउन जरुरी छ । सबैको साथ र सहयोगको जरुरत रहेको छ ।’ 

यस्तै सरकारले मापदण्ड विपरीत पीसीआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेको छ । घरधनीहरुले परीक्षणका लागि दबाब दिने गरेको गुनासो आएकाले त्यसो नगर्न उहाँले आग्रह गर्नुभयो । पीसीआर रिपोर्ट नभइ धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै उहाँले जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपार्न आग्रह गर्नुभएको हो । 

यस्तै सरकारले ग्रामीण उद्यम तथ आर्थिक विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने नाै अर्ब ३८ करोड सहुलियत पूर्ण ऋण सहायताका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । यस्तै एसियाली विकास बैंकबाट प्राप्त हुने १८ अर्ब ऋण सहायताका लागि पनि वार्ता गर्न टाली गठन गरिएको छ । 

सरकारले नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रम अन्तर्गत बेलायत सरकारबाट सहयोग गर्ने साढे तीन अर्ब बढीको आर्थिक सहयोग लिने निर्णय पनि गरेको छ । नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रम अन्तर्गत तेस्रो फेजका लागि बेलायतले गर्ने तीन अर्ब ५३ करोड बराबरको आर्थिक र प्राविधिक सहयोग स्वीकार गर्ने निर्णय सरकारले गरेको हो ।

यस्तै विश्व वातावरण सुविधा, यूएनडीपीबाट प्राप्त हुने सहायता रकम एक अर्ब ७५ करोड पनि स्वीकार गर्ने निर्णय सरकारले गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । 

सरकारले सशस्त्र प्रहरी बलको गोताखोरका लागि उद्धारमा खटिएको दिन प्रतिदिन तीन सयका दरले प्रोत्साहन भत्ता र १० लाख रुपैयाँसम्मको विशेष बीमाको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

कञ्चनपुरको वेदकोटमा भारतसँग देखिएको सीमा विवादका सम्बन्धमा समस्या समाधानका लागि गठन आदेश २०७७ आदेश स्वीकृत गर्ने निर्णय गरेको छ । वास्तविक जग्गाधनीले जग्गा नपाउने र यताको जग्गा उता, उताको जग्गा यता हुने भएकाले समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । 

सातवटै प्रदेशमा कृषिका लागि विशेष केन्द्रहरु स्थापना गर्न इजरायल सरकारसँग सम्झौता गर्न राजदूत अञ्जन शाक्यलाई अख्तियारी दिने निर्णय पनि सरकारले गरेको छ । 

यसैगरी नेपाल बाल सङ्गठन नक्सालको परिसरमा रहेको आदर्श आधारभूत विद्यालय र केन्द्रीय बहिरा उच्च विद्यालयलाई अन्य स्थापना स्थानान्तरण गर्दै बालबालिकाको आवासलगायतका काम गर्ने निर्णय पनि गरेको छ । उपयुक्त आवास भवन मर्मत सम्भार र नयाँ संरचना निर्माण गरी सुरक्षित आवासको व्यवस्था मिलाउन अर्थ मन्त्रालयले तत्काल एक करोड ५० लाख अनुदान दिने व्यवस्था मिलाउने निर्णय पनि भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । 

बाल सङ्गठनको स्वामित्वमा रहेको जग्गाको विकास र अन्य विकासको गुरुयोजनाका लागि बाल सङ्गठनले काम गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया