यो वर्षको पद्मश्री पुरस्कार रद्द

 असोज १३, २०७७ मंगलबार ७:५२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यो वर्षको पद्मश्री पुरस्कार रद्द भएको छ । सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई पुरस्कार दिने निर्णय विवादास्पद भएपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द भएको खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ ।

अस्ति आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो । पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप रहेकाले उहाँसँग बसेर पुरस्कार नलिने उप्रेतीले बताउनुभएको थियो ।

यस्तै गलत आरोप लगाएर विवादमा तान्न खोजिएको भन्दै प्रश्रितले समेत पुरस्कार नलिने बताएपछि प्रतिष्ठानले यो वर्षको पुरस्कार रद्द गर्ने निर्णय गरेको अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।

पुरस्कारका लागि छनोट भएका दुवै प्रतिभाले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेपछि उनीहरुको इच्छालाई कदर गर्दै यस्तो निर्णयमा पुग्नु परेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष लामिछानेले प्रतिष्ठानको उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्याउने नभएको तर उत्पन्न भएको असहजताको लागि दुःखी भएको बताउनुभएको छ ।

प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्षको उत्कृष्ट कृतिका लागि पद्मश्री साहित्य पुरस्कार र समग्र साहित्य क्षेत्रमा गरेको योगदानका आधारमा पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • मोदनाथ प्रशित

    Oct. 4, 2020, 2:43 p.m.

    बाँदरले आफ्नो घर पनि बनाउदैन अर्काको घर पनि बाँकी राख्दैन भनेको यही हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया