लकडाउनले थला परेको व्यापार व्यवसायमा आशा पलायो

 असोज १४, २०७७ बुधबार १२:४१:४४ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौमा टेम्पो चलाउँदै आउनुभएकी कुमारी लामाले लकडाउन खुकुलो भएपछि जीवन सहज भएको महसुस गर्नुभएको छ । १५ वर्षदेखि टेम्पो चलाउँदै आएकी धादिङकी लामालार्ई लकडाउनको बेला दैनिक गुजारा गर्न समेत समस्या भएको थियो । तर अहिले भने उहाँलाई दुई छाक हातमुख जोर्न समस्या छैन ।

जोर बिजोर प्रणालीका आधारमा उहाँले लगनखेल, सानेपा कालिमाटी हुँदै डल्लुको रुटमा टेम्पो चलाउनुहुन्छ । ‘कोरोनाका कारण रातमा निद्रासमेत लाग्न छोडिसकेको थियो । धन्न सरकारले सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेपछि सजिलो भयो’ उहाँले खुसी साट्नुभयो ।

सामान्य अवस्थामा जस्तो कमाई भने भैसकेको छैन । टेम्पोमा १२ जना अटाउने सिटमा आधा अर्थात् ६ जना मात्र राख्न पाइन्छ । दिनभरि कमाएको पैसाले गुजारा चलाउनसम्म पुगेको छ । नियमित पूरा सिटमा यात्रु राखेर सरकारले चलाउन दिएको भए अलि सहज हुने उहाँको भनाइ छ ।

पेट पाल्ने बाटो त सरकारले खुला गरिदियो । तर किस्ता पनि तिर्नुपर्छ । घर भाडा पनि तिर्नै पर्याे । पहिला दैनिक ३५ सयदेखि ४ हजार रुपैयाँसम्म आम्दानी हुने गरेकोमा अहिले दैनिक १५ सयदेखि २ हजार रुपैयाँ मात्र हुन्छ ।

सुरुमा नै यही काम गरेकाले उहाँलाई अरु काम गर्न पनि आउँदैन । त्यही भएर लकडाउनको समयमा अरु काम खोजेर गर्न पनि मेसो पाउनुभएन ।

वर्षौंसम्म अर्काको टेम्पो चलाउँदै आउनुभएकी उहाँले ऋण लिएर टेम्पो किन्नुभयो । ५ जनाको परिवार छ । छोराछोरी ११ र १२ कक्षामा पढ्छन् । कलेजले लकडाउनको समयको पनि शुल्क मागेको उहाँ बताउनुहुन्छ ।

‘भोकले मर्नुपर्ने अवस्था त टर्याे अरु समस्या भने उस्तै छ’ उहाँ भन्नुहुन्छ, ‘सरकारले अब नियमित गाडी चलाउन दिन्छ कि ?’ 

कीर्तिपुरका  सुरेश महर्जनको ट्याङलाफाँटमा आल्मुनियमको पसल छ । लकडाउनको समयमा उहाँको आल्मुनियमका सामान किन्ने निक्कै कम भए । अहिले भने दिनदिनै बढ्दै गएका छन् । तर व्यापार सामान्य अवस्थामा जस्तै फर्किसकेको भने छैन । सुरुमा घर बनाउने काम गर्ने महर्जनले आल्मुनियममा भविष्य देखेर यसतर्फ लाग्नुभएको हो ।

काम गर्ने अरु ३ जना छन् । उनीहरुलाई मासिक रुपमा २० देखि २५ हजार रुपैयाँ दिने गर्नुभएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काम गर्नुहुन्छ  । लकडाउनको समयमा अब पसल नै बन्द गर्नुपर्ला कि भन्ने उहाँलाई चिन्ता थियो । तर अहिले भने आशा जागेर छ  । उहाँले बनाउनुभएको आल्मुनियमको झ्याल, ढोका लगायतका सामान काठमाण्डौ मात्र होइन काठमाण्डौ बाहिर पनि बिक्री हुन्छ ।

धादिङ गल्छीकी निरा तामाङ कीर्तिपुरमा रेडिमेट कपडा बेच्नुहुन्छ  । न्युरोड, असन लगायतका ठाउँबाट होलसेलमा रेडिमेट कपडा ल्याएर कीर्तिपुरको गुम्बा नजिकै बेच्दै आउनुभएको छ । लकडाउनको समयमा व्यापार ठप्प भयो । उहाँले फुटपाथमा रेडिमेट कपडा बेच्नुहुन्छ । फुटपाथमै भए पनि राम्रै र सस्तोमा समेत पाइने भएकाले मानिसको भिड लाग्थ्यो ।  लकडाउनपछि भने ठप्प नै भयो ।

श्रीमान गाडी चलाउनुहुन्छ । लामो समय लकडाउन हुँदा श्रीमान र उहाँ दुबै जनाको कमाई  भएन । निक्कै दुःख भयो । अहिले भने अलि सहज भएको छ । 

हिजोआज उहाँको पनि फाट्टफुट ब्यापार भइरहन्छ । श्रीमानले पनि एक दिन बिराएर गाडी चलाउनुहुन्छ । घर खर्च चलाउनका लागि गाह्रो छैन । तर लामो समय काम र कमाई नहुँदा  भएको खर्च परिपूर्ति गर्न भने सकिएको छैन । 

ललितपुरकी पूर्ण लक्ष्मी शाक्यको लकडाउनका कारण थलिएको व्यापार पनि लकडाउन खुलेसँगै उकासिन थालेको छ । १२÷१३ वर्षको उमेरदेखि मूर्ति बनाउँदै आउनुभएकी उहाँले लकडाउनको समयमा निकै घाटा बेहोर्नुपर्र्यो । मूर्ति बिक्दै बिकेन । 

मूर्ति बिक्न छोडेपछि उहाँले लकडाउनकै समयमा झ्याल ढोका बनाउने काम थाल्नुभयो । उहाँको श्रीमानको झ्याल ढोका बनाउने कारखाना छ । त्यही कारखानामा सहयोग गर्नुभयो । अहिले अलि सहज भएको छ ।  पसलहरु खुलेका छन् । पूर्वाधार निर्माणका काम पनि सुरु भएकाले अव भने ब्यापार बिस्तारै बढ्दै जानेमा उहाँ आशावादी हुनुहुन्छ । 

आफ्नो बुवाले बुङमतीमा रहेको आफ्नै घरमा कारखाना खोलेपछि उहाँ त्यही बेलादेखि नै मूर्ति बनाउने काममा लाग्नुभएको थियो । उहाँले बनाउने मूर्ति धेरैजसो विदेशी पर्यटकले किन्ने गरेका थिए । अहिले विदेशी पर्यटक नेपाल आएका छैनन् । कोरोनाका कारण आफूले सानै उमेरदेखि गर्दै आएको काम नै धरापमा पर्ने देखिएकाले उहाँ झ्याल ढोका बनाउने काममा लाग्नुभएको हो । यसमा भने व्यापार बिस्तारै बढ्दै गएको छ । 

व्यापार अझै लयमा आइसकेको छैन । तर ठेक्कामा लिएका मठ मन्दिरका  लागि आवश्यक पर्ने झ्याल ढोका बनाउने काम भने भइरहेको उहाँ बताउनुहुन्छ । भूकम्पको बेला भत्किएका मठमन्दिर पुनर्निर्माणको काम अहिले चलिरहेका छन् । त्यसैले व्यापार सन्तोषजनक हुँदै गइरहेको उहाँ बताउनुहुन्छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया