खाडीका चार देशबाट भोलिदेखि हुँदैछ नियमित उडान, अब घर फर्कन दूतावासको सूचीमा भर पर्न नपर्ने

 असोज १४, २०७७ बुधबार १७:२०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खाडीका चार देशबाट भोलि अर्थात अक्टोबर १ देखि नियमित उडान सुरु हुँदैछ ।

खाडीको देश साउदी, कतार, कुवेत र ओमानबाट भोलिदेखि नियमित उडान हुने भएको हो । नियमित उडान भएपछि यी देशबाट स्वदेश फर्कन चाहने श्रमिकले सिधै टिकट काटेर घर फर्कन सक्ने दूतावासहरुले जनाएका छन् । भदौ १६ गतेदेखि मलेसिया र यूएईबाट नियमित उडान भए पनि साउदी, कतार कुवेत लगायतका देशमा पीसीआर परीक्षण सहज नभएको भन्दै यी देशबाट फर्कन खोज्ने नेपालीको लागि चार्टर्ड उडान भइरहेको थियो ।

तर अब पीसीआर परीक्षण गरेर आउने श्रमिक सिधै होम क्वरेण्टीमा जान पाउनेछन् भने पीसीआर परीक्षण नगरी आएमा काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्नु पर्नेछ । अब स्वदेश फर्कन सिधै सम्बन्धित एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर टिकट काटी स्वदेश फर्कन पाइन्छ ।

चार्टर्ड उडानमा जस्तो दूतावासको सूची अनुसार फर्कनका लागि कुर्न पर्दैन । भोलिदेखि कतारबाट हिमालय र कतार एअरवेजले दिनमा १, १ उडान भर्दैछन् भने साउदीको रियादबाट, कुवेतको कुवेत सिटीबाट र ओमानबाट पनि नियमित उडान हुनेछ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया