गति लिँदै अटो व्यवसाय

 असोज १५, २०७७ बिहिबार २०:२८:४४ | अप्सरा गाैतम
unn.prixa.net

काठमाण्डाै – कोरोनाको कारण अस्तव्यस्त भएका क्षेत्र र सेवा बिस्तारै चलायमान हुन थालेका छन् । अन्य क्षेत्रले जस्तै अटो मोबाइल्स क्षेत्रले पनि गति लिन थालेको छ । चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे गाडीका शाे रुममा ग्राहकको चहलपहल बढ्न थालेको छ । अटो व्यवसायीले ग्राहक तान्न विभिन्न खालका स्किमसहित व्यवसायलाई निरन्तरता दिएका छन् ।

दुई महिना अघिसम्म यस क्षेत्रको व्यापार ठप्पजस्तै थियो । अहिले व्यापारले थोरै स्वरुप परिवर्तन गरे पनि गएका वर्षमा जस्तै व्यापार हुने सम्भावना भने नभएको व्यवसायीहरु बताउँछन् ।

यद्यपि कोरोना सङ्क्रमणबाट जोगिन पनि निजी गाडी किन्नेहरु निकै बढेका छन् । साथै समयानुकूल सेवा सुविधा, अनलाइन बुकिङ, आकर्षक ब्याजदर र डाउन पेमेन्टलगायतका स्किमका कारणले पनि ग्राहकलाई आकर्षित गरेको छ ।

दुई पाङ्ग्रेको व्यापारमा बढ्दो आकर्षण, चार पाङ्ग्रेमा कम

दुई महिनायता चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीको व्यापार केही बढेको छ । तर चार पाङ्ग्रेको तुलनामा  मोटरसाइकल र स्कुटरको बिक्री बढी भएको पाइएको छ ।

बिक्रेता कम्पनीहरुका अनुसार सामान्य अवस्थामा दैनिक एक सय ७० देखि २ सय ५० युनिटसम्म मोटरसाइकल बिक्री हुँदै आएकोमा अहिले एक सय ५० देखि बढीमा ३ सय ५० युनिटसम्म बिक्री भइरहेको छ । गएका वर्षमा चाडवाडकाे अवधिमा हुने व्यापारको तुलनामा भने याे केही कम हो ।

तर लकडाउनअघिको सामान्य अवस्थामा जस्तै निरन्तर व्यापार कहिलेदेखि सुरु हुन्छ भन्नेबारे अनुमान गर्न कठिन भएको व्यापारीहरु बताउँछन् । लामो समयदेखि नेपाली बजारमा चार पाङ्ग्रे गाडी बिक्री गर्दै आएका हाेन्डाई, टाटा, सुजुकी, टोयोटालगायत विभिन्न चार पाङ्ग्रे गाडीका आधिकारिक बिक्रेता कम्पनीले गाडीको बिक्रीदर थोरै बढेको जानकारी दिएका छन् । तर उनीहरुका अनुसार गएको वर्षको तुलनामा यो वर्ष झण्डै ५० प्रतिशत व्यापार घटेको छ ।  

सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडका प्रबन्धक तथा बजार व्यवस्थापक प्रशन्न पन्त आकर्षक स्किम ल्याइएकाले थोरै भए पनि बिक्रीदर बढेको बताउनुहुन्छ । व्यापार अपेक्षाकृत तथा सन्तोषजनक नभएको उहाँको गुनासो छ । उपयुक्त वातावरण सिर्जना भए कोरोना सङ्क्रमणका बीच पनि अटो व्यापारले निरन्तरता पाउन सक्ने उहाँको बुझाइ छ ।

‘चैतदेखि असार महिनासम्म व्यवसाय ठप्प भएको थियो’, उहाँ भन्नुहुन्छ, ‘हामीले कोरोना सङ्क्रमणकै समयमा ल्याइएका अफरका कारण असारदेखि बिक्रीले पिकअप लिएको छ ।’ सन्तोषजनक व्यापार नभए पनि बिस्तारै बढ्दै जाने अपेक्षा पन्तको छ ।

बैंकले अटो लोन र ब्याजदरमा थोरै सहज गरिदिए ग्राहकको मनोबल बढ्ने र व्यवसायीलाई पनि राहत पुग्ने पन्त बताउनुहुन्छ ।

यस्तै टोयटाका लागि नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका सञ्चालकको पनि उस्तै अनुभव छ । प्रालिका अध्यक्ष सुरज वैद्य गाडी बिक्रीको अवस्था पहिलाकै अवस्थामा नआए पनि लकडाउन खुकुलो हुँदै जाँदा केही हदसम्म कारोबारले गति लिन थालेको बताउनुहुन्छ।

तत्काल आकर्षक योजनामार्फत ग्राहकलाई समयानुकूल सुविधा दिएर भए पनि व्यापारलाई निरन्तरता दिने कोसिस गरिएको वैद्यले जानकारी दिनुभयो ।

होण्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार प्राइभेट लिमिटेड प्रालीले भने लकडाउन खुलेलगतै बाइक र स्कुटरको व्यापारमा ७० प्रतिशत वृद्धि भएको जानकारी दिएको छ । कम्पनीका महाप्रबन्धक सोहन श्रेष्ठले लकडाउनका बाबजुद पनि व्यापार बढेको जानकारी दिनुभयो । सार्वजनिक सवारीको विकल्पमा मोटरसाइकल र स्कुटर खरिद गर्नेको सङ्ख्या बढेको उहाँको भनाइ छ ।  

यस्तै यमाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले पनि ग्राहकको आकर्षण बढेको जानकारी दिएको छ । आशा गरेअनुसार नभए पनि अवस्था अनुकूल चित्तबुझ्दो व्यापार भइरहेको कम्पनीका बजार व्यवस्थापक विक्रम पौडेल बताउनुहुन्छ ।

यी कम्पनी मात्रै होइनन् बजाज, टीभीएस, हिरोलगायतका विभिन्न कम्पनीले शून्य प्रतिशत डाउनपेमेन्टदेखि आकर्षक ब्याजमा स्कुटर, मोटरसाइकल बिक्री गरिरहेका छन् । साथै चारपाङ्ग्रे गाडी बिक्रेताहरुले पनि आकर्षक स्किममार्फत ग्राहकलाई आकर्षण गरिरहेका छन् । फलस्वरुप, बिस्तारै अटो बजार चलायमान बन्दै गएको छ ।

दीर्घकालीन असर

लकडाउन र निषेधाज्ञाले खस्किएकाे अटो व्यापारलाई नयाँ शिराबाट निरन्तरता दिनुपर्छ भन्ने योजना बनाइरहँदा व्यवसायीहरु दीर्घकालीन असरको चिन्ताले पिरोलिन थालेका छन् ।

शहरी क्षेत्रमा सङ्क्रमण बढिरहेका कारण अटो मोबाइल्स क्षेत्रमा फेरि नकारात्मक असर सुरु हुन सक्ने आँकलन गर्न थालेका छन् । अब फेरि लकडाउन र निषेधाज्ञा भए व्यवसाय चल्नै नसक्ने अवस्थामा पुग्ने उनीहरुको प्रक्षेपण छ ।

अटो व्यवसाय बन्द हुँदा यो क्षेत्रसँग सम्बन्धित अन्य व्यवसायमा पनि सङ्कट उत्पन्न हुन्छ । मोबिल, स्पेयर पार्ट्स, टायर, सर्भिस सेन्टरलगायत थुप्रै व्यवसाय अस्तव्यस्त बन्न सक्ने भन्दै आउँदा दिनमा व्यवसाय ठप्पै बनाउन नहुने उनीहरू बताउँछन् ।

युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका अध्यक्ष सुरज वैद्य सरकारले अटो क्षेत्रलाई विलासिलाताको दृष्टिकोणबाट मात्र नहेरी देशकै अर्थतन्त्रको आधारको रुपमा नियाल्नुपर्ने बताउनुहुन्छ । अटो व्यवसायसँगै यससँग सम्बन्धित अन्य क्षेत्रको स्थितिको मूल्याङ्कन गरी व्यवसाय चलायमान बनाउनु पर्ने उहाँको भनाइ छ ।

‘सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पारदर्शी नीति ल्याउनुपर्छ’, वैद्य भन्नुहुन्छ, ‘व्यवसाय फेरि बन्द हुने हो कि भन्ने चिन्ता छ, सरकारले व्यवसायलाई कसरी निरन्तरता दिने भन्नेबारे गहन भएर सोच्नु जरुरी छ।’

यस्तै बजाजका लागि नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी (एचएच बजाज) की बजार व्यवस्थापक पुनम सिंह अटो व्यवसायलाई नयाँ ढङ्गबाट सुरु गर्न सकिने बताउनुहुन्छ ।

जीविकोपार्जनको चुनौती बढ्दै गएको अवस्थामा समेत गति लिन थालेको अटो व्यवसायलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । फेरि व्यवसाय ठप्प भए अर्थतन्त्रमा ठूलो असर पर्ने उहाँ बताउनुहुन्छ ।

निकास के ?

अटो व्यवसाय मात्रै नभएर सम्पूर्ण क्षेत्र अस्तव्यस्त रहेको अवस्थामा अब लकडाउन र निषेधाज्ञाको विकल्प नखोजे अर्थतन्त्र धराशायी बन्ने व्यवसायीको चिन्ता छ । यस चुनौतीलाई अवसरका रुपमा परिवर्तन गर्नुपर्ने उनीहरुको बुझाइ छ । स्याकार प्रालीका महाप्रबन्धक सोहन श्रेष्ठ समयानुकूल व्यवसायलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिनुहुन्छ।

‘यो चुनौतीपूर्ण अवस्था हो । यसलाई अवसरमा रुपान्तरण गर्न सकिन्छ । व्यवसाय ठप्प भए, दीर्घकालीन रुपमा ठूलो असर पर्न जान्छ’, श्रेष्ठ भन्नुहुन्छ, ‘ठप्प पार्ने हैन, व्यापारको स्वरुप परिमार्जन र व्यवस्थित गर्नुपर्छ।’

ग्राहकलाई अनलाइनमार्फत गाडीबारे जानकारी गराउने, होम डेलिभरीको सुविधा दिने लगायतका उपायमार्फत् पनि व्यवसाय चलाउन सकिने उहाँको बुझाइ छ । सवारी व्यवसायीहरूको संस्था नाडाका अध्यक्ष कृष्ण दुलाल तुलनात्मक रुपमा कोरोना कारण चारपाङ्ग्रे गाडीको बजार बढी प्रभावित भएको बताउनुहुन्छ।

लकडाउनपछि बिस्तारै चारपाङ्ग्रे दुई पाङ्ग्रे गाडीसँगै स्पेयर पार्ट्स, टायर्स, ब्याट्रीलगायतको व्यापार बढेको बताउँदै अब सुरक्षा सतर्कता अपनाउँदै व्यापारलाई निरन्तरता दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

‘व्यापार ठप्प पारेर हुँदैन । व्यवसायलाई निरन्तरता दिनेबारे छलफल भइरहेको छ’, दुलाल भन्नुहुन्छ, ‘गएका वर्षमा आयोजना हुने नाडा अटो शो परिस्थिति अनुकूल भए आउँदो फागुनमा आयोजना हुनेछ ।’ 

अन्तिम अपडेट: चैत १३, २०८०

अप्सरा गाैतम

अप्सरा गाैतम उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया