त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति...
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एअर र एअर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ ।
सरकारले हिमालय एअरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिकरणले थाई र एअर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो ।
बिहीबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफै गर्ने गरेका थाई एअर र एअर इण्डियाको अनुमति फिर्ता लिने बताउनुभयो । अहिले कोरोनाका कारण ती विमान कम्पनीका अधिकारीहरुसँग वार्ता गर्न सम्भव नभएकाले छिट्टै वार्ता गरी अनुमति फिर्ता लिइने उहाँले बताउनुभयो ।
पोखरेलले भन्नुभयो, ‘अब थाई एअर र एअर इण्डियालाई ग्राउण्ड ह्याण्डलिङको मौका दिने पक्षमा हामी छैनौँ । अहिले कोभिडको बेला छ, उहाँहरु यहाँ हुनुहुन्न आएपछि छलफल गरेर तपाईँहरुले सेल्फ ग्राउण्डिङ गर्न पाउनु हुन्न, तपाईँको क्राइटेरिया मिट गर्दैन भन्छौँ । अब हाम्रो ग्राउण्ड ह्याण्डिलिङ सेवा दिने प्रदायक नेपाल सेवा निगम मात्रै हो यो कुरामा भ्रममा नपर्नुहोस् ।’
उहाँले काठमाण्डौ बेस भएर नयाँ वायु सेवा कम्पनीलाई सञ्चालनको अनुमति नदिने पनि उहाँले बताउनुभयो । हिमालय एअरलाइन्सलाई नियमअनुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएकाले राष्ट्रिय मुद्दा बनाउन नहुने बताउनुभयो ।