उद्याेग वाणिज्य महासङ्घको चुनाव मङ्सिर ११ र १२ गते काठमाण्डौमा हुने

 असोज १५, २०७७ बिहिबार २०:१५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आउँदाे मङ्सिर ११ र १२ गते काठमाण्डौमा हुने भएको छ । गएकाे चैतमा हुनुपर्ने चुनाव कोभिड–१९ का कारणबाट तीन–तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । 

महासङ्घको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले ५४ औँ वार्षिक साधारण सभा तथा चुनावकाे मिति तोकेको हो । 'आज बसेको कार्यसमितिको बैठकले महासङ्घको साधारण सभा तथा निर्वाचन आगामि मङ्सिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । ठाउँको हकमा प्रज्ञा भवन तथा राष्ट्रिय सभा गृहमा महासङ्घको सचिवालयले कुरा गरिरहेको छ । ठूलो र खुला ठाउँ आवश्यक पर्ने भएकोले चुनाव समिति र महासङ्घको सचिवालयले अध्यक्षज्यूसँग सरसल्लाह गरी ठाउँ निश्चित गर्नेछ',  महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो ।

यसअघि बसेको महासङ्घको कार्यकारिणी समितिले साधारण सभा तथा चुनावसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । त्याे कार्यदलले महासङ्घको साधारण सभा भर्चुअल्ली र चुनावका कार्यक्रमहरु काठमाण्डाैमा गर्नका लागि सिफारिस गरेको थियो । त्यसपछि बसेको पदाधिकारीको बैठकले मङ्सिर ११ र १२ लाई साधारण सभा तथा चुनावकाे मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेको छ । 

नेपाल सरकारबाट अनुमति लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गर्ने र अब यसपछि कोभिड–१९ का कारण कुनै पालिकाले लकडाउन तथा निषेधाज्ञा गरेमा महासङ्घका प्रतिनिधिलाई आवात जावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ । 

महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा चुनाव २०७६ साल चैत २८ र २९ गते तोकिएकोमा त्यस समयमा सरकारले काेभिड–१९ का कारण देश पूर्णरुपमा लकडाउन हुँदा मिति सरेकाे थियाे । पछि जेठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा लगाइएकाे लकडाउन तथा निषेधाज्ञाकाे कारण तय हुन सकेकाे थिएन ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया