यहाँ के भइरहेको छ ?

 असोज १७, २०७७ शनिबार १०:५९:४४ | दामोदर न्याैपाने
unn.prixa.net

कविता

जसलाई जे मन लाग्यो त्यही गरिरहेको छ 

बिन्ती कसैले बताइदेऊ यहाँ के भइरहेको छ ?

एकातिर देशमै रोजगारी भन्ने नारा घन्किराछ  

अनि सीमा नाका भएर यति जना भारत पसे 

देशमा केही उपाय नलागेपछि यतिले पोकाकन्तुरा कसे

यस्तै समाचार बारम्बार टिभी र रेडियोले फुकिराछ 

चिनी पनि धेरै खाएपछि गुलियो हुनुपर्ने होइन र ?

अब त लाजले पनि सरकारलाई ‘कुरीकुरी’ गरेको देखेँ

 

लोकतन्त्रको नाममा जनमतकै मजाक उडिरहेको छ

‘चुनाव हारेको मान्छे राष्ट्रिय सभामा रे’ भन्ने चर्चा पनि चलिरहेको छ 

यति हुँदा पनि सरकार कानुनलाई सर्वाेपरि मान्छ 

न्यायालय र अख्तियारको कार्यशैली र कार्यसम्पादन हेरौँ

के यस्तै काम हुनुपर्ने हो ? एकचोटि विचार गरौँ

सुशासन र सदाचारले कुनामा लुकेर कुराकानी गरिरहेछन् 

अब उनीहरु थाकेछन् क्यारे

लामो श्वास लिँदै खुइय्य गरिरहेछन् 

 

जे–जे भए पनि सहिदिनु पर्ने रे 

जस्तोसुकै कामलाई पनि राम्रो भनिदिनु पर्ने रे

सुन्दर सपनाको झाँसा दिने सरकार

विकराल वर्तमानको अवस्था देखेर तर्सिएको छ 

देशमा बेरोजगार, भ्रष्टाचार, डुङडुङ गनाइरहेको छ

तर सरकार नाक थुनेर आफ्नै धुनमा रमाइरहेको छ 

आगनमै कमिसन खोरको बुट्टा तीन भित्ता लामो भइसक्दा

पछि त्यही बुट्टोले आफूलाई छोप्छ भन्ने जान्दा जान्दा

उत्तानो परेर चिर निद्रामा पल्टिरहेको छ 

जसलाई जे मन लाग्यो त्यही गरिरहेको छ 

बिन्ती कसैले बताइदेऊ यहाँ के भइरहेको छ ?


 

अन्तिम अपडेट: चैत ३०, २०८०

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • युवराज घलेभाइ

    April 10, 2021, 7:01 p.m.

    मार्मिक कविता ।

  •  0 Reply

तपाईको प्रतिक्रिया