बिदामा आएकाहरु विदेश फर्कन नपाउँदा कम्पनीले राखेको डिपोजिट र इन्सेन्टिभ रकम गुमाउँदै

 असोज १८, २०७७ आइतबार १२:५४:५१ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – धादिङका रमेश कार्की यतिबेला काठमाण्डौको कीर्तिपुरमा गाईपालनमा व्यस्त हुनुहुन्छ । बारीमा तरकारी पनि फलाउनुभएको छ । दुध र तरकारीले बजार पाएकै छ । साथमा श्रीमती र छोरी छन् । यतिमै खुसी हुनुहुन्छ रमेश । चाहेको खुसी स्वदेशमै मिलेपछि उहाँलाई अब परदेशको रहर छैन । 

फागुनमा दुई महिनाको छुट्टी लिएर मलेसियाबाट नेपाल आउनुभएका रमेश लकडाउनले गर्दा नेपालमै अड्किनुभयो । अहिले फर्केर विदेश जाने मन पनि छैन । तर रमेशलाई भने अन्तिमपल्ट एकपटक विदेश पुग्नैपर्ने छ ।

‘कम्पनीबाट लिनुपर्ने इन्सेन्टिभ लिन बाँकी छ, आठ वर्षको मेहनत त लिनैपर्यो नि’, रमेश आफूले विदेश जानै पर्ने कारण बताउनुहुन्छ । 

रमेश सन् २०१२ मा मलेसिया जानुभएको हो । मलेसिया गएदेखि उहाँले लगातार ८ वर्ष तुनास मन्जा भन्ने कम्पनीमा काम गर्नुभयो । सुरुमा जाँदा मासिक तलब ५०० रिंगिट भए पनि पछिल्लो पटक बिदामा घर आउँदा १३ सय रिंगिट पुगेको थियो ।

सुरुमा तीन वर्षको करार थियो कम्पनीको । रमेशका अनुसार करार सकिएपछि कम्पनीले प्रत्येक वर्ष एलाउन्स पनि बढाउँछ र बेसिक तलब पनि बढाउँछ । यस्तै महिनाको ५० रिंगिट काट्छ पनि । बिदामा घर आउँदा पनि कम्पनीमा पैसा जम्मा गर्नुपर्छ । त्यसरी जम्मा गरेको पैसा र मासिक रुपमा कम्पनीले काटेको रकम क्यान्सिलमा जाँदा (काम छाडेर जाँदा) एकमुस्ट पाइन्छ । 

‘यसपटक नेपाल आउँदा ३५ सय रिंगिट जम्मा गरेको थिएँ, कम्पनीको नियम नै यस्तै छ’ रमेशले भन्नुभयो, ‘आठ वर्षको हिसाब गर्ने हो भने ६ हजार रिंगिट जति हुन्छ ।’
रमेशका अनुसार उहाँले कम्पनीबाट ६ हजार रिंगिट लिन बाँकी छ । 

लकडाउन खुलेपछि कम्पनीले काममा बोलाउने भनेको छ, त्यसैले आफ्नो पैसा फिर्ता पाउँनेमा रमेश ढुक्क भने हुनुहुन्छ । ‘कम्पनीको बोसहरु आएर कुरा मिलाएर गएका छन्, लकडाउन खुलेपछि जान पाइने भन्नुभएको छ’, उहाँले भन्नुभयो ।

रमेशको जस्तै समस्या छ, बाजुराका लालबहादुर शाहीको पनि । वैदेशिक रोजगारीको क्रममा उहाँ ६ वर्षअघि मलेसिया जानुभएको थियो । सुरुमा जाँदा ९ सय रिंगिट तलब बढेर २५ सय जति पुगेको थियो । गएको फागनुमा बिदामा नेपाल आउनुभएका लालबहादुरको चैत २८ गतेको फर्किने टिकट थियो । तर लकडाउनका कारण उहाँ फर्किन पाउनुभएन ।

लालबहादुरको भने रमेशको जस्तो सजिलो अवस्था छैन । उहाँको कम्पनीले काममा फिर्ता बोलाउने छाँटकाँट छैन । कम्पनीले काममा नबोलाए आफूले पाउनुपर्ने रकम पाइने होइन कि भन्ने चिन्ता छ लालबहादुरलाई ।

आफ्नाे बारीमा काम गर्दै लालबहादुर शाही

लालबहादुर पासारायकु कम्पनीमा काम गर्नुहुन्थ्यो । मलेसिया गएदेखि ६ वर्ष भयो त्यही कम्पनीमा काम गरेको । काम गरेदेखि कम्पनीले मासिक तलबबाट केही प्रतिशत रकम काट्दै आएको छ । अरु कम्पनीको नियम झैं ५० रिंगिट जति काट्ने गरेको लालबहादुर बताउनुहुन्छ । यस्तै बिदामा नेपाल फर्किनुपर्दा पनि जम्मा गर्नुपर्ने ३५ सय रिंगिट डिपोजिट गरेर आउनुभएको थियो । तर अहिले कम्पनीले काममा फिर्ता बोलाउने नबोलाउने केही निर्णय नहुँदा लालबहादुरलाई आफूले लिनुपर्ने रकम लिन पाउने होइन कि भन्ने चिन्ता लागेको छ ।

‘कपडा, सामान सबै उतै छ, कम्पनीसँग सम्पर्क भइरहेको छ तर काममा फिर्ता बोलाउने जस्तो कुरा गर्दैन’, उहाँले भन्नुभयो, ‘डिपोजिटको ३५ सय र काटेको १८ सय गरेर ५२ सय रिंगिट जति लिन बाँकी होला, कम्पनीले काममा बोलाएन भने त्यत्रो रकम मैले कहाँबाट बुझ्ने ?’

कसरी पाउने त रकम ?

रमेश र लालबहादुर जस्तै धेरै श्रमिकको समस्या हो यो । परदेशबाट बिदामा घर आएपछि कोरोना भाइरसका कारण नेपालसहित नेपालीको श्रम गन्तव्य देशमा पनि लकडाउन भयो । केही समयसम्म दुई देशबीच जहाजहरु चलेनन् । पछि नेपालीहरु समस्यामा पर्न थालेपछि उनीहरुलाई लिन चार्टर्ड जहाज जान थाल्यो । तर विदेशमा समस्यामा रहेकाहरुलाई लिन जहाज गएपछि बिदामा घर आएकाहरु भने अझै पनि फर्कन पाएका छैनन् ।

यूएई, बहराइन, साउदी र ओमानले विभिन्न सर्त र मापदण्ड पूरा गरेर आप्रवासी श्रमिकलाई प्रवेशमा अनुमति दिए पछि मलेसिया, कतार र कुवेतले अझैं अनुमति दिएका छैनन् । कोरोना जोखिमका कारण नेपाललाई अझै पनि उच्च जोखिमको सूचीमा राखेका छन् । यी देशमा बिदामा आएका श्रमिक फर्कन पाएका छैनन् । समयमा फर्कन नपाउँदा जागिर मात्र हैन कम्पनीले राखेको डिपोजिट र उपदान बापतको रकम नपाउँदा रमेश र लालबहादुरजस्तै धेरैजना अहिले चिन्तामा छन् । 

कति कम्पनीले त खातामा रकम हालिदिन्छन् । तर सबै कम्पनी इमान्दार र दयालु हुँदैनन् । आफ्नो श्रमिक स्वदेश फर्किसकेपछि वास्ता गर्दैनन् । त्यसैमाथि अहिले कोरोनाको समयमा कम्पनीहरु घाटामा चलिरहेको बेला तलब घटाउनुको सट्टा खोजी खोजी बाँकी रकम दिन मन पनि गर्दैनन् ।

तर दुःखले कमाएको आफ्नो पाउनुपर्ने रकम पाउनु श्रमिकको अधिकार हुन्छ । तर कसरी त्यो रकम पाइएला ? कहाँबाट रकमका लगि पहल गर्ने भन्ने जानकारी नहुँदा धेरैजना अन्योलमा छन् ।

यस्तो समस्या हुनेले वैदेशिक रोजगार विभागमा निवेदन दिन सकिने बताउनुहुन्छ विभागका सूचना अधिकारी टिकामणी न्यौपाने ।

‘आफ्नो समस्या खुलाएर विभागमा निवेदन दिनुभयो भने हामी सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा जानकारी गराउँछौं र रकम प्रदान गर्नको लागि पहल गर्छौं’, न्यौपानेले भन्नुभयो, ‘निवदेनमा काम गरेको कम्पनी, देश, पाउनुपर्ने रकम लगायतका कुरा प्रष्टसँग खुलाउनुपर्ने हुन्छ ।’

‘रकम पाए विदेश जाने थिएनौं’

हुन त परदेश रहर भन्दा बाध्यता हो । केही कमाइ र बचत भएपछि विदेश भन्दा बरु स्वदेश नै ठीक भनेर परदेशको राम्रो जागिर छाडेर नेपालमै रमाउनेहरु पनि धेरै छन् । बाजुराका लालबहादुर शाही र धादिङका रमेश कार्की पनि परदेश भन्दा अब नेपालमै केही गर्ने सोच भएको बताउनुहुन्छ । 

‘कम्पनीबाट पाउनुपर्ने रकम मात्र पाए पनि परदेश फर्किने थिइनँ’, लालबहादुर भन्नुहुन्छ, ‘सानोतिनो जे काम भए पनि नेपालमै ठीक छ ।’

लालबहादुर शाही आफू अहिले काठमाण्डौमा सुरक्षा गार्डको काम गर्नुहुन्छ । केही दिन मात्र भयो उहाँले यो काम गर्न थाल्नुभएको । दुई महिनाको बिदामा घर आउनुभएको थियो । काठमाण्डौमा रहे छोराछोरीको पढाइ राम्रो होला भन्ने सोच थियो उहाँको । त्यही भएर मलेसिया फर्किने बेला श्रीमती र छोराछोरीलाइ पनि काठमाण्डौमै लिएर आउनुभयो । कीर्तिपुरमा कोठा खोजेर उतै राख्ने र आफू मलेसिया जाने सोच थियो लालबहादुरको । तर चैत ११ गते लकडाउन भयो । चैत २८ गतेको टिकट थियो उहाँ मलेसिया फर्किन पाउनुभएन ।

एक महिना त त्यतिकै बित्यो । यस्तै लकडाउन लम्बिरह्यो भने आम्दानीको बाटो नभएपछि समस्या होला भनेर लालबहादुरले तरकारी खेती गर्न सुरु गर्नुभयो । कीर्तिपुरमा एक रोपनी जग्गा भाडामा लिएर उहाँले तरकारी लगाउनुभयो । 

कम लगानीमा कम मात्रामा गरेको तरकारी खेतीले धेरै आम्दानी लिन नसकेपछि लालबहादुर अहिले सुरक्षा गार्डको काम गर्नुहुन्छ । तरकारी खेतीमा उहाँको श्रीमती खटिनुहुन्छ ।

एक दुई महिनामै काममा फर्किने सोचेर घर आउनुभएका लालबहादुर जस्तै रमेश कार्की पनि काममा फर्किने टुङ्गो नभएपछि आफ्नै व्यवसायमा रमाउनुभएको छ । रमेशले पनि कीर्तिपुरमा गाई पालन गर्नुभएको छ ।

८० हजार रुपैयाँमा गाई किन्नुभयो । अहिले रमेशसँग दुईवटा गाई छन् । एउटा गाइ ब्याउने बेला भएको छ । एउटा गाई दुहुनु छ । दिनको १७ लिटर दूध दिन्छ । रमेशले केही लिटर गाउँमै बेच्नुहुन्छ भने बाँकी डेरीमा पुर्याउनुहुन्छ । यो सँगै उहाँले बारीमा तरकारी पनि लगाउनुभएको छ ।

‘सुरुवाती सानैबाट गरे पनि व्यवसाय गरौं सोचेर यत्तिको गरियो’, रमेश कार्कीले भन्नुभयो, ‘यति लामो समय केही नगरेर बस्न सकिएन, त्यसैले सानैबाट भए पनि केही थालेको ।’

रमेशको चाहना त छ, नेपालमै व्यवसाय गरेर बस्ने । तर त्यत्रो वर्ष काम गरेको पाउनुपर्ने इन्सेन्टिभ लगायतको पैसा त्यसै छाड्न सक्ने कुरा पनि भएन ।

‘कम्पनीबाट पाउनुपर्ने रकम पाएपछि ढुक्क भइन्थ्यो, त्यो पैसा म कम्पनीमा गएपछि मात्र पाउन सक्छु’, उहाँले भन्नुभयो, ‘त्यही भएर पनि केही समयको लागि भए पनि मलेसियामा काम गर्न जानुपर्छ होला ।’

 


 

 

अन्तिम अपडेट: बैशाख १, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया