यूएईको नेपाली दूतावास गेटमा फोटो, भिडियो खिचेमा र फेसबुकमा जथाभावी लेखेमा जरिवाना र जेल

 असोज १८, २०७७ आइतबार ११:८:५५ | उमाकान्त पाण्डे

यूएई – यूएईमा रहेको नेपाली दूतावास आबुधावीको गेटमा जथाभावी रुपमा फोटो खिच्ने तथा भिडियो बनाएमा कडा कारबाही हुने भएको छ ।

दूतावासको आधिकारिक फेसबुक पेज तथा सामाजिक सञ्जालमा जथाभावी लेख्ने तथा प्रतिकृया जनाउनेलाई २ हजार दिर्हाम अर्थात झण्डै ६४ हजार रुपैयाँ जरिवाना शुल्कसहित १ वर्षको जेल सजाय हुने भएको हो ।

कुटनीतिक नियोग भवन वरपर उभिएर दुई देशकै छविमा आँच आउने, उच्छृँखल गतिबिधि गर्ने तथा समाजिक सञ्जालमा जथाभावी लेख्नेलाई स्थानीय प्रशासनले कडा कारबाही गर्ने भएको हो ।

यही कारण हालसालै ४ जना नेपाली पक्राउ परेको परिवार स्रोतले जनाएको छ । कोरोनाका कारण लामो समयसम्म उडान बन्द हुँदा नेपाल फर्किन नपाएर समस्यामा परेका नेपालीले दूतावासको गेटमा धर्ना दिने, दूतावासका कर्मचारीसँग अभद्र व्यवहार गर्ने र राज्य विरुद्ध नाराबाजी गरेका भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेका थिए ।

चार नेपाली सजाय भोग्दै

भिडियो बनाउँदै सामाजिक सञ्जालमा उच्छृँखल गतिबिधि गर्ने, सामाजिक सञ्जालमा नराम्रा टिप्पणी गर्नेहरुलाई पक्राउ गरी कारबाही प्रकृया अगाडि बढाइएको छ । दुई महिना पहिले दूतावासको गेटमा पुगेर कपिलवस्तुका निलम पाण्डे (नाम परिवर्तन) ले नेपाली भाषामा बोल्दै राज्य विरुद्ध मुर्दावादको नारा लगाएको भिडियो टिकटकमा राखेका थिए ।

सोही भिडियोका कारण अहिले उनी आबुधावीमा रहेको अल वात्बा जेलमा छन् । आबुधावीको एउटा सेक्युरिटी कम्पनीमा करार अबधी सकेर नेपाल फर्किने तयारी गरेका उनले समयमै घर फर्कन नपाउँदाको आक्रोश दूतावासको गेटमा पोखेका थिए । त्यही आक्रोश आफ्नै मोबाइलमा अरुलाई खिच्न लगाएर आफ्नो टिकटक तथा अन्य सञ्जालमा राखेका थिए ।

त्यस्तै कामको खोजीमा भिजिट भिसामा यूएई आएका धरानका मनिल विक (नाम परिवर्तन) अहिले यूएईमा जेल जीवन बिताइरहेका छन् । मनिलले काम खोज्दै गर्दा कोरोनाको प्रकोप बढेकाले रोजगारी पाउन सकेनन् । लकडाउनका कारण नेपाल फर्किने जहाज उडेनन् ।

जहाज नउडेपछि मनिल दुबईमै अड्किए । लामो समयसम्म काम बिहीन भएर बस्दा मनिललाई चिन्ता थपियो । आवेशमा आएर मनिलले नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट लेख्दै भने ‘छिट्टै आबुधावी दूतावासमा गएर आगो लगाइदिन्छु र दूतावास भवन तथा कर्मचारीलाई बमले उडाइदिन्छु ।’

कमेन्ट गरेका कारण मनिल अगष्ट तेस्रो साता नेपाल जान विमानस्थल पुगेका बेला दुबई बिमानस्थलमा पक्राउ परेका हुन् । पक्राउ परेका पाण्डेलाई आबुधाबी तल्लो अदालतले २ हजार दिर्हाम जरिवाना र एक वर्ष जेल सजाय सुनाएको परिवारले जनाएको छ । त्यस्तै विकको मुद्दा पनि अदालतसम्म पुगेको परिवारले जनाएको छ ।

यसरी पक्राउ परेका नेपाली नागरिकका परिवारले दूतावासलाई सहयोग गरिदिन अनुरोध गरेका छन् । उनीहरुले लिखित निवेदन दिँदै गल्तीको महसुस गरेकाले माफी दिन अनुरोध गरेका छन्। यसअघि पनि दूतावासको गेटमा पुगेर एक समूहले स्थानीय कर्मचारीमाथि हातपात गर्ने र अर्को समूहले फोटो भिडियो खिच्दै प्रहरी बोलाउने गरेका थिए । हातपात गर्दा रगतसमेत देखिएपछि फोन गरेर प्रहरी बोलाउने र भिडियो बनाउनेहरु नै पक्राउ परेका थिए ।

त्यसरी पक्राउ परेका रमेश कट्टेल (नाम परिवर्तन) र राम थापालाई दूतावासकै सहयोगमा नेपाल पठाइएको छ ।

दूतावास आफैंले मुद्दा लगाएर फसायो : पीडित

जेल जीवन बिताइरहका नेपालीको परिवारले नेपाली दूतावास आफैंले मुद्दा लगाएर फसाएको गुनासो गरेका छन् ।

पीडित परिवारले दूतावास आफैंले मुद्दा लगाएर नेपाली नागरिक फसाएको र अन्य सहयोग नगरेको आरोप लगाएका छन् । उनीहरुले आवेशमा आएर दूतावास वा सरकारलाई गाली गरे पनि नियतबस आपराधिक मनसायले नगरेको भन्दै दूतावासले चाहे मुद्दा टुङ्गिने पीडित परिवारको भनाइ छ ।

तर नेपाली दूतावास आबुधावीले कोही नेपाली नागरिकमाथि मुद्दा नलगाएको जनाएको छ । ‘समस्यामा परेका नागरिकलाई हामीले नै हेर्ने जिम्मेवारी हो, हामी आफैंले मुद्दा लगाउने भन्ने होइन’ यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भन्नुभयो ।

कानुन विपरित गर्ने कामको स्थानीय प्रशासनले सेन्सर गरेर वा आफ्नो माध्यममार्फत कानुनी दायरामा ल्याउने भए पनि दूतावास आफैंले कसैलाई मुद्दा नलगाएको राजदूत ढकालले बताउनुभयो । यस्तै दूतावासले पनि भवन अघिल्तिर सूचना टाँसेर फोन र भिडियो नबनाउन अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया