तातोपानी नाकाबाट कपडा र कच्चा पदार्थका ११ कन्टेनर भित्रिए

 असोज १८, २०७७ आइतबार १८:५२:१ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – ​डेढ महिनादेखि बन्द भएको तातोपानी नाकाबाट चिनियाँ सामान आउन सुरु भएकाे छ । गएकाे असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुरु गर्ने सहमति भएसँगै आइतबारदेखि चिनियाँ सामान आउन थालेकाे हो ।

आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेर फर्किसकेको छ । ती सामान लिन चालक र मजदुर गरी २९ जना ११ वटा कन्टेनर लिएर मितेरी पुलमा सामान लोड गर्न गएका छन् । बेलुकासम्म ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने खत्रीले बताउनुभयो । भन्सार जाँच पास भएपछि केही दिनमा ती सामान काठमाण्डौ पठाइनेछ ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड/अनलोड गर्न तयारी अवस्थामा राखेको छ । ती चालक र मजदुरको पाँच/पाँच दिनमा कोरोना परीक्षण गरिनेछ । लामो समयदेखि चीनसँग जोडिएका दुई नाका बन्द भएपछि चीनसँगको कारोबार ठप्प भएको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया