प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमा ढुङ्गामुढा, चार जना पक्राउ

 असोज १८, २०७७ आइतबार १९:२१:१९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुपन्देही – प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको छ । काठमाण्डौबाट प्रदेशको अस्थायी राजधानी बुटवल फर्किनुभएका मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको हो ।

ढुङ्गा लागेर मुख्यमन्त्रीको गाडीको सिसा फुटेको छ । प्रहरीले ढुङ्गा हानेको आरोपमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने निर्णयको विरोध गर्दै आइतबार नेपाली कांग्रेसले बुटवलमा बन्दको घोषणा गरेको थियो । बुटवलबाट प्रदेश राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा पेस भएपछि नेपाली कांग्रेससहित स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

आइतबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको रुपन्देही जिल्ला कमिटीले पनि प्रदेश ५ को राजधानी दाङ सार्ने पार्टीको निर्णय संविधान विपरीत भएको भन्दै निर्णय कार्यान्वयनमा नलैजान भनेको छ । नेकपाको जिल्ला कमिटीले प्रदेश सार्ने कुराको विरोध गरेपछि नेकपाका नेता कार्यकर्ता पनि विरोधमा निस्किएका छन् । प्रदेश राजधानी तथा नामको प्रस्ताव पारित गर्ने प्रक्रियाका लागि साेमबार प्रदेश सभा बैठक बस्दैछ ।

विरोध गरिरहेका राजनीतिक दल, नागरिक अगुवालगायतले साेमबार प्रदेश सभा सदस्यलाई प्रदेश सभामा प्रवेश गर्नबाट रोक्ने कार्यक्रम घोषणा गरेकोले स्थानीय प्रशासनले बुटवलमा साेमबार निषेधाज्ञा जारी गरेको छ । सत्तारुढ दलसमेत निर्णयको विरुद्धमा उभिएपछि बुटवलको अवस्था थप तनावग्रस्त भएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया