सीपले जगाएको आत्मविश्वास, अब विदेश नजाने सोच

 असोज १९, २०७७ सोमबार १६:५१:२५ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कास्की – माछापुच्छ्रे गाउँपालिका– २ का २९ वर्षीय कर्णबहादुर तामाङ अब विदेश नजाने सोचमा हुनुहुन्छ । कोरोना कहरको केही महिनाअघि वैदेशिक रोजगारीबाट नेपाल आउनु भएका तामाङ अहिले व्यावसायिक सीप सिकेर नेपालमै कुनै व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ।

जोर्डनको एक गार्मेन्ट कम्पनीमा तीन वर्ष बिताएको अनुभव सुनाउँदै तामाङ भन्नुहुन्छ “जति नै पसिना बगाए पनि विदेशको धनले खुशी दिन सकेन, अब आफ्नै गाउँठाउँमा परिवारको साथ केही गर्ने सोच बनाएको छु ।”

कोरोना कहर अघि प्राविधिक शिक्षालय (सीटीईभीटी) फूलबारी पोखराले व्यावसायिक शिक्षाका लागि आवेदन माग गरेको थाहा पाएर फर्म भर्नुभएका तामाङ छनोटमा परेपछि तालीम लिन थाल्नुभएको थियो । 

पैसठ्ठी दिने निःशुल्क बेकरी तालीममा सिक्दै गर्दा कोरोनाको महामारीले कोर्ष पूरा गर्न नपाएको दुःखेसो उहाँले पोख्नुभयो । “सिक्दासिक्दै बीचमा छोड्नु पर्यो, प्राविधिक शिक्षालयबाट पनि केही खबर आएको छैन, कोर्ष पूरा गरेपछि बेकरी सञ्चालन गर्ने तयारीमा छु”, तामाङले भन्नुभयो ।

केही वर्षअघि पोखराकै प्राविधिक शिक्षालयबाट छोटो समयको बेटर कुकिङ तालीम लिनुभएकी पोखराकी २१ वर्षीय सफलता अर्याल पनि अहिले आफ्नै व्यवसायको मालिक बन्नु भएको छ । एक वर्ष चीनका विभिन्न होटलमा कुकिङसम्बन्धी अनुभव हासिल गरेपछि उहाँलाई नेपालमा नै केही गराैं भन्ने ऊर्जा मिलेको हो । उहाँ भन्नुहुन्छ, “मैले शुरुमा पोखरामा सिटिइभिटीमा निःशुल्क छ महिने बेटर र कुकिङ तालीम सिकेँ, पोखराको लेकसाइडमा डेढ वर्ष जागिर पनि गरें, थप अनुभवका लागि एक वर्ष चीन गएर अझै धेरै अनुभव बटुलें, यसले मलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने प्रेरणा दियो ।” 

एक वर्षअघि मात्र नेपाल आउनु भएकी अर्यालले सिकेको सीप र अनुभवलाई अब नेपालकै माटोमा लगानी गर्ने सोचअनुरुप लेखनाथमा ‘सक्सेस बेकरी’ सञ्चालनमा ल्याउनुभएको छ । हरेक युवाको हातमा प्राविधिक र व्यावसायिक सीप हुने हो भने पैसा कमाउनको लागि विदेश नै जानुपर्छ भन्ने सोच हट्दै जाने उहाँको विश्वास छ ।

दुबईको विजनेश क्लास लाउन्जमा झण्डै आठ वर्ष काम गरेर स्वदेश फर्कनुभएका विराटनगरका ४१ वर्षीय सूर्य अधिकारी पनि अहिले व्यावसायिक तालीम सिकेर स्वरोजगार बन्नुभएको छ । विदेशबाट आएपछि उहाँले पोखराको चिप्लेढुङ्गास्थित कान्तिपुर होटल ट्रेनिङ सेन्टरबाट एक महिनाको कुकसम्बन्धी तालीम लिनुभयो । “छोटो समयको तालीमले मलाई आत्मविश्वास बढायो र व्यवसाय सञ्चालन गरेँ”, अधिकारीले भन्नुभयो ।

पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर १३ मा करिब रु १५ लाखको लगानीमा उहाँले अरबिका विन्स कफी हाउस सञ्चालन गर्नुभएको छ । व्यावसायिक तालीम सिके ५० देखि एक लाख रुपैयाँ कमाउन खाडी वा मलेशिया जान नपर्ने उहाँको अनुभव छ । देशभित्रै प्रशस्त सम्भावना भए पनि सही बाटो पत्ता लगाउन नसक्दा थुप्रै युवा विदेश भौंतारिनु परेको सुनाउँदै राज्यले युवालाई देशभित्र केही गर्ने वातावरणको लागि सहजीकरण गरिदिनुपर्ने बताउनुहुन्छ ।

नेपाल जस्तो विकासोन्मुख मुलुकमा दक्ष जनशक्तिको उत्पादन गरेर व्यवसायमा जोड दिन सके विकासले गति लिन तर्क गर्नुहुन्छ पोखरा प्राविधिक शिक्षालयका प्रमुख हर्कलाल श्रेष्ठ । “प्राविधिक शिक्षाको महत्व बुझ्न नसक्दा विदेशमा धेरै नेपाली युवाले दु:ख पाएका छन् । हातमा सीप हुने हो भने हरेक युवामा केही गरौँ भन्ने भावना आउँछ, त्यसैले विद्यालयदेखि नै प्राविधिक र व्यावसायिक शिक्षाको बारेमा जानकारी दिन आवश्यक छ ।”

उहाँले पछिल्ला वर्षमा प्राविधिक तथा व्यावसायिक शिक्षाप्रति युवाको चासो बढ्दै गए पनि अझै पर्याप्त नभएको बताउनुभयो । “पहिलापहिला प्राविधिक तथा व्यावसायिक पढाइप्रति युवाहरुको उति रुचि थिएन, अभिभावक पनि छोराछोरीलाई विदेश नै जाऊन् भन्ने चाहना राख्थे तर अब प्राविधिक र व्यावसायिक ज्ञान नै महत्वपूर्ण रहेछ भन्ने बुझाइको विकास हुँदै छ, युवालाई यस शिक्षाप्रति रुचि बढ्न थालेको छ” उहाँ भन्नुहुन्छ । यसप्रकारको तालीम हासिल गरेका युवा बेरोजगार हुने सम्भावना कम हुने उल्लेख गर्दै श्रेष्ठ यसको महत्वलाई अझै सशक्त रुपमा सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनुहुन्छ ।

पोखरा प्राविधिक शिक्षालय फूलबारीमा तीन वर्षे होटल व्यवस्थापनअन्तर्गतका कुकिङ, हाउस किपिङ, फ्रन्ट डेस्क, फुड एण्ड वेभरेजमा पढाइ हुने गर्छ । होटल व्यवस्थापनमा (४० जना) तीन वर्षे प्रमाणपत्र तह अप्थाल्मिकमा (४० जना)  र १८ महिने प्री–डिप्लोमा इन कुलिनरी आर्ट (कुकिङ बेकिङ) २० जनाको कोटा रहेको छ । योसँगै व्यावसायिक तालीमअन्तर्गत छोटो समयका सिलाइकटाइ, बुटिक, ब्यूटिपार्लरलगायतका तालीम सञ्चालन हुँदै आएका छन् ।

शिक्षालयले प्राविधिक र व्यावसायिक शिक्षा आर्जन गर्न चाहने निम्न आय भएका जेहेन्दार विद्यार्थीका लागि सहुलियत शुल्क, पूर्ण शुल्क र प्रायोजित शुल्क गरेर आरक्षण कोटा छुट्याइएको छ । सिटिइभिटीबाट सम्बन्धन प्राप्त पोखरामा मात्र फार्मेसी दुई, डेण्टल एक, इन्जिनीयरिङ एक, रेडियोलोजी एक र नर्सिङ छ वटा छन् भने  निजीस्तरबाट छोटो समयका तालीम प्रदायक संस्था दुई दर्जनभन्दा बढी छन् ।

त्यसैगरी विदेशिने युवालाई स्वदेशमै रोजगार दिने उद्देश्य गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सङ्घ, प्रदेश, स्थानीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने गरी रु साढे १० करोडको बजेट विनियोजन गरेको प्रदेश मन्त्रालयका उपसचिव भीमप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ का कारण वैदेशिक रोजगारी गुमाएका, स्वदेशमै अवसरको खोजी गरिरहेकालाई व्यावसायिक सीपमूलक तालीम प्रदान गर्ने पहल भएको बताउनुभयो ।

उहाँका अनुसार हामीले अहिले स्थानीय तहसँग यस विषयमा भर्चुअल अन्तक्र्रिया पनि गरेका छौँ, स्थनीय तहमा कति युवा बेरोजगार छन्, कस्तो तालीमले उनीहरुलाई स्वरोजगार बनाउन सक्छ त्यस विषयमा प्रदेश नीति तथा योजना आयोगबाट पनि प्रारम्भिक अध्ययन भइरहेको छ । उहाँले छिट्टै मागअनुसारको तालीम सञ्चालन हुने जानकारी दिनुभयो

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया