प्रदेश ५ राजधानी विवाद : नाराबाजी गर्ने सांसदलाई घिसारेर बाहिर निकाल्न मन्त्रीकाे निर्देशन

 असोज १९, २०७७ सोमबार २१:०:२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले विपक्षी कांग्रेसका सांसदहरुलाई घिसारेर सदनबाट बाहिर निकाल्न निर्देशन दिनुभएको छ ।

प्रदेश सभाको सोमबारको बैठकमा नाराबाजी गरिरहेका कांग्रेसका प्रदेश सभा सदस्यहरुलाई मन्त्री केसीले घिसारेर बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिनुभएको हो ।

आफू बोलिरहेका बेला नाराबाजी गरिरहेको र टेबुल ठोकिरहेको भन्दै मन्त्री केसीले मर्यादापालकलाई निर्देशन दिँदै भन्नुभयो, 'हेलो. हेलो. समातेर हालिदिनुस्, घिसारेर निकालिदिनुस् ।'

मन्त्री केसीले  सि ले बोलिरहेको बेला कांग्रेस सांसदहरुले संसदको मर्यादा कायम राख्न माग गर्दै नाराबाजी गरिरहेका थिए । आन्तरिक मामिलामन्त्री केसी राेष्ट्रममा निक्कै आक्रोशित भएर बोल्नुभएको देखिन्थ्यो । माओवादीले जनयुद्ध सञ्चालन गरिरहेका बेला कुलप्रसाद केसी 'सोनाम' उपनामले चिनिनुहुन्थ्यो । सोनाम डेपुटी कमाण्डरको जिम्मेवारीमा रहनुभएको थियो । रोल्पाको प्रदेश १ बाट उहाँ प्रदेश सभामा निर्वाचित हुनुभएको हो ।

राजधानी जस्तो संवेदनशील विषयमा निर्णय गर्दा राजनैतिक सहमति कायम गर्नुपर्ने भन्दै कांग्रेसले केही दिन बैठक स्थगित गर्न माग गरेको थियो । तर सरकार पक्ष त्यसका लागि तयार नभएपछि कांग्रेसका सांसदले नाराबाजी गरेका थिए ।

नाराबाजीका बीच सभामुख पूर्णबहादुर घर्तीले बैठक अगाडि बढाएपछि आक्रोशित बनेका कांग्रेसका प्रदेश सभा सदस्यहरुले टेबुल र कुर्सी ताेडफाेड गरेका थिए । ताेडफाेड गर्नेमा रुपन्हेदीका दुई जना र नवलपरासीका एक जना प्रत्यक्ष निर्वाचित सदस्य छन् ।  

बुटवल राजधानी हुनुपर्छ भनेर पक्षमा बोलिरहेका नेकपाका भोजप्रसाद श्रेष्ठलाई सभामुखबाट पटक–पटक बोल्न अवरोध गरिएको थियो । श्रेष्ठले प्रतिपक्षलाई पनि सहमतिमा ल्याएर सदन चलाउनु लोकतान्त्रिक चरित्र हुने भन्दै बोल्न पाउनुपर्ने माग गरिरहनुभएको थियो ।

प्रतिपक्षको अवरोधका बीच सभामुखले सदनको कारबाही अगाडि बढाइरहनु ,प्रतिपक्ष कांग्रेसले कुर्सी तोडफोड गर्नु र आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रतिपक्षका सांसदलाई घिसारेर बाहिर निकाल्न रोस्ट्रमबाटै मर्यादापालकलाई निर्देशन दिनु संसदीय मर्यादा विपरीतकाे घटना भन्दै आलोचना भइरहेको छ । प्रदेश सरकारले स्थायी राजधानी दाङको भालुवाङ राख्ने निर्णय गर्दै प्रदेश सभामा प्रस्ताव दर्ता गराएपछि बुटवलमा प्रदर्शन भइरहेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Shiva

    Oct. 6, 2020, 2:07 a.m.

    पूर्व कमान्डरले घिसारेर बाहिर लैजान भन्नु स्वभाविक हो, तर काङ्ग्रेस सांसदहरु तोडफोडमा उत्रनु अस्वभाविक आआफ्नो संस्कार ।

  •  0 Reply

तपाईको प्रतिक्रिया