कोरोनाले सत्कार शैली फेरियो : ‘स्वास्थ्य मापदण्ड पालना गर्दै गर्दा पर्यटक नै रिसाइदिन्छन् कि भन्ने चिन्ता’

 असोज २२, २०७७ बिहिबार १९:७:१२ | सुजता सुनुवार
unn.prixa.net

इलाम – श्रीअन्तु देशकै प्रमुख पर्यटकीय स्थल हो, जुन इलामको सूर्योदय नगरपालिका ५ मा पर्छ । सामान्य अवस्थामा यहाँ सूर्योदय र सूर्यास्त हेर्नेको बाह्रैमास घुइँचो लाग्छ । जसमध्ये पनि असोज २२ देखि पुस मसान्तसम्मको समय पर्यटक आवागमनको मुख्य सिजन हो । 

यसअघि यस सिजनमा पर्यटकहरु शुक्रबार र शनिबार मात्रै पाँच देखि छ हजारको सङ्ख्यामा भेटिन्थे । नेपाली, भारतीय तथा तेस्रो देशका पाहुनालाई स्वागत गर्न अन्तुका कटेज, होटल र होमस्टे सञ्चालकलाई भ्याइनभ्याइ हुन्थ्यो । चियाबारीको पोखरी घुम्ने, ‘लोकल’ परिकार चाख्ने र सूर्योदय हेर्ने पर्यटकको लागि आकर्षक क्षेत्र श्रीअन्तुमा अहिले भने मुश्किलले एक सयदेखि एक सय ५० को सङ्ख्यामा मात्रै पर्यटक आइरहेका छन् ।

कोरोना भाइरसको प्रभावले यो क्षेत्र छ महिना पूरै ठप्प भयो । गएको असोज ८ गतेदेखि सबै होटल, होमस्टे, कटेज खोलिएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने सर्तमा नै सबै व्यवसाय खोलिएको श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनबहादुर आले मगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘फाट्टफूट्ट पर्यटक आउन सुरु त भयो । तर मापदण्ड पूरा गर्दै गर्दा पर्यटक नै पो रिसाइदिन्छन् कि भन्ने लाग्छ हौ । हामीले कोरोना बोकेर ल्याएका छौँ र ? भन्दिए भने के होला भन्ने पिरलो हुदोरैछ, परिस्थितिले अप्ठ्यारो बनाएको छ । 

एक रात बसेर जाने जो कोहीलाई स्वागत र बिदा गर्दा फूलको गुच्छा दिने, खादा लगाइदिने गरिन्थ्यो । अहिले भने कोरोना महामारीका कारण सत्कार शैली नै फेरिएको छ । ‘पुरानै शैली अपनाए प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने भएकाले नमस्कार गर्छौ र स्वागत गरिएका पाहुनालाई बिदा गर्छौ । धेरै नै असजिलो छ । तर नगरि भएकै छैन’, अन्तुका होमस्टे र होटल व्यवसायीहरुले भने । 

दशैँको समयमा टाढा–टाढाका पर्यटक आउने भएकाले यो समयमा होटल, होमस्टे र कटेज बुकिङकाे सिजन पनि हो । होटल बुकिङका लागि धेरै फोन आउँथ्यो । अध्यक्ष आले भन्नुहुन्छ, ‘एक सेकेण्ड पनि फुर्सद मिल्दैन थियो नि । अहिले भने सुनसान छ । अन्तुमा आवागमन खुला गरेपछि भने झापा, मोरङ, सुनसरी, काठमाण्डौलगायत स्थानकाहरु अलि–अलि भने आइरहेका छन् ।’  

अन्तुमा होटल, कटेज र होमस्टे गरी एक सय तीन वटा छन् । यीमध्ये ३० जना होटल व्यवसायी भने जिल्लाबाहिरका छन् । कोरोनाका कारण लकडाउन भएपछि अन्तु पूरै बन्द भयो । बन्द भएको बेला होटल रुँग्ने रूँगालो मात्र भएर बिताइएको र खुलेपछि भने केही आशा पलाएको होटल व्यवसायी बद्री रिजालले बताउनुभयो । उहाँको घर झापा हो तर होटल व्यवसाय भने इलाममा छ । ‘न साहुको ऋण तिरिएको छ । न त कटेजको भाडा नै । यस्तो भएपछि बस्नै पर्‍याे नि’, उहाँले भन्नुभयो ।  

अन्तुमा २०५५ मा ‘पेइङ गेस्ट’ का रुपमा सञ्चालन सुरु भएको ‘होमस्टे’ को प्रवर्द्धनका लागि स्थानीयले २०६० सालमा ‘अन्तु पर्यटन महोत्सव’ गर्‍याे । २०६८ देखि घरबासका रुपमा सुरु भएको ‘होमस्टे’ सञ्चालनमा अहिले भने निकै नै सकस भइरहेको केन्द्रका आले मगरको अनुभव छ ।  

मुख्य सिजनमा लकडाउन भएपछि ठूलो घाटा होटल व्यवसायीलाई परेको छ । होटल व्यवसायीका अनुसार आर्थिक सङ्कट आएपछि ठूला होटलबाट झण्डै छ सय जना, मझौलाबाट एक हजार दुई सय जना र साना होटलबाट पाँच सय ७० जना कामदार बेरोजगार बनेका छन् । कतिले त इलाम नगरपालिकाका मुख्य बजारमा रहेका होटल नै छोडेर आ–आफ्नो घरतिर लागेका छन् । यसैले पर्यटन प्रवद्र्धनका काम ‘अब शून्य लेभल’ देखि थाल्नुपर्ने भएको होटल एसोसिएशन इलामका अध्यक्ष तथा पर्यटन व्यवसायी देवी पौड्यालको भनाइ छ । 

पर्यटन सूचना केन्द्र जोरकलश इलामका गगन घिमिरेका अनुसार गएको आर्थिक वर्ष जिल्लामा एक लाख २९ हजार २० जना पर्यटक भित्रिएको तथ्याङ्क छ । जसमा आन्तरिक पर्यटक मात्रै एक लाख २८ हजार ६४ जना छ । यस वर्ष भने दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको थियो । तर अहिले पर्यटक आवागमनको तथ्याङ्क शुन्य जस्तै छ । साना सवारी साधनलाई भने नगनिने भएकाले पनि तथ्याङ्क शून्य रहेको केन्द्रका घिमिरेले जानकारी दिनुभयो ।  

अन्तुमात्र होइन जिल्लाका अन्य पर्यटकीय क्षेत्रहरु सन्दकपुर गाउँपालिकाको माइपोखरी, सन्दकपुर,  सूर्योदय नगरपालिकाको कन्यामलगायतका सबैमा फाट्टफूट्ट पर्यटकहरु भने भेटिन थालिएको छ । यसले व्यवसायीलाई केही आशा भने जगाएको छ ।    

अन्तिम अपडेट: चैत २०, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया