जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रममा दुई हजार बेरोजगार सूचीकृत

 असोज २२, २०७७ बिहिबार १७:२२:२४ | रासस
unn.prixa.net

जुम्ला – प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाको हिमा गाउँपालिकामा दुई हजार १६५ बेरोजगार सूचीकृत भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ का लागि हिमा गाउँपालिकामा यी व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत भएका हुन् । 

सरकारले २०७७ साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको पालिकाको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो  । 

तोकिएको समयावधिभित्र फाराम भरेका दुई हजार ८७६ बेरोजगार व्यक्ति उपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका दुई हजार १६५ जना व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको गाउँपालिका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताउनुभयो ।

सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताउनुभयो । 

एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न  नभएका र कम्तीमा तोकिएबमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो ।

यसवर्ष विश्व बैंकसँगको सहकार्यमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामूदायिक आयोजनाबाट देशभर झण्डै पाँच लाख रोजगारी सिर्जना गर्न  ११ अर्ब रुपैयाँभन्दा बढी रकम सरकारले विनियोजन गरेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया