यस वर्षकाे साहित्यतर्फकाे नाेबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई

 असोज २२, २०७७ बिहिबार १८:२६:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिइने घोषणा भएको छ ।

द स्विडिस एकेडेमीले कवयित्री लुइस ग्लुकलाई साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । उहाँलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार दिन लागिएको हो  ।

सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिनुभएकी लुइस ग्लुकले यस पुलित्जर पुरस्कार र नेशनल ह्युम्यानिटिज अवार्ड लगायत प्रतिष्ठित पुरस्कार जितिसक्नुभएको छ । लुइसका कवितामा संवेदनशीलता  र एक्लोपन, पारिवारिक सम्बन्ध र विच्छेद तथा मृत्युमाथि गहिरो अभिव्यक्ति पाइने गरेको छ ।

कवयित्री लुइसले सन् १९६८ मा ‘फर्स्टबोर्न’ बाट आफ्नो यात्रा सुरु गर्नुभयाे र छोटो समयमा नै अमेरिकी समकालीन साहित्यमा प्रमुख कविहरुमा सामेल हुनु भयाे । उहाँका १२ कविताहरुको सङ्ग्रह र केही निबन्ध प्रकाशित भएका छन् । 

लुइस ग्लकको सबैभन्दा प्रशंसा गरिएको सङ्ग्रहमध्ये एक ‘द वाइल्ड आइरिस’ हो, जुन सन् १९९२ मा प्रकाशित भएको थियो । 

सन् २०१९ मा साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियायी मुल लेखक पिटर ह्यान्ड्केलाई दिइएको थियो । उहाँलाई यो पुरस्कार उनको सानदार लेखन र भाषामा नवीनतम प्रयोगको लागि दिइएको थियो । 

यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र रसायनशास्त्र नोबेल पुरस्कार विजेताको घोषणा भइसकेको छ । अब शान्तिशास्त्र र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा हुन बाँकी छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया