बानेश्वरका होस्टेलका ओछ्यानमा गाँजा, तास र परिवार नियोजनका अस्थायी साधन !

 साउन २५, २०७५ शुक्रबार २२:१२:१० | रासस

काठमाडौं  - बानेश्वर क्षेत्रमा सञ्चालित होस्टेल (छात्रावास) लाई मर्यादित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान सुरु गरिएको छ । 

महानगरीय प्रहरी वृत्त बानेश्वरको अगुवाइ तथा स्थानीय जनप्रतिनिधि, होस्टल एशोसिएशनका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिको संयुक्त टोलीले बानेश्वरमा रहेका विभिन्न होस्टेलहरु अनुगमन गरेको छ । 

बानेश्वर तथा आसपास क्षेत्रमा सञ्चालित होस्टेलमा विकृति देखिएको, अमर्यादित गतिविधि, होहल्ला, झैझगडा, दुव्र्यसनी सेवन आदिको जनगुनासो र उजुरीका आधारमा होस्टेलको विकृति नियन्त्रण गर्न अभियान चलाएको बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । 

‘बानेश्वरको टोल–टोलमा प्रहरी अभियान’ अन्तर्गत होस्टेलको संयुक्त अनुगमन गरिएको र त्यहाँ विकृतिजन्य क्रियाकलाप पाइएको उहाँले उल्लेख गर्नुभयो । 

विभिन्न ३९ वटा कार्यक्रम लक्षित गरी तीन महिने अभियान गत साउन १ गतेदेखि सुरु भएको थियो । हालसम्म १० वटा कार्यक्रम सम्पन्न भएको वृत्तले जनाएको छ । 

अनुगमनअन्तर्गत शुक्रबार बानेश्वरका केही होस्टेलका ओछ्यानमा गाँजा, तास, परिवार नियोजनका अस्थायी साधनलगायत विकृतिजन्य सामग्री फेला परेको प्रहरीले जनाएको छ । धेरै होस्टल दर्ता नगरी सञ्चालनमा रहेको र कतिपय होस्टेलले दर्ता भए पनि नवीकरण नगरेको पाइएकाले तीनलाई ताकेता गर्न सम्बन्धित वडा कार्यालयले जिम्मेवारी लिनेछन् । 

अनुगमनमा अमर्यादित गतिविधिमा संलग्न व्यक्ति र सञ्चालकलाई एक पटकका लागि सचेत गराएर छाडिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो । 

होस्टेललगायत अन्य क्षेत्रमा भएको विकृति हटाई मर्यादित समाज निर्माणको अभियानलाई निरन्तरता दिइने उहाँको भनाई छ । 

होस्टेल एशोसिएशनको तथ्याङ्कअनुसार बानेश्वर क्षेत्रमा ३०० वटा होस्टल सञ्चालनमा छन् । विगतमा पनि ती क्षेत्रमा सञ्चालित होस्टेलमा झैँझगडालगायत अमर्यादित गतिविधि भएको आधारमा प्रहरीले छापा मारेको थियो । “यति सानो क्षेत्र (बानेश्वर) आसपासमा किन चाहियो यति धेरै सङ्ख्याका होस्टेल  अन्य कुनै अमर्यादित गतिविधि पो हुने गरेको छकी भन्ने आशङ्का जन्माएको छ, यसको अनुसन्धानलाई प्रभावकारी बनाउँछौँ,”– प्रहरी नायव उपरीक्षक काफ्लेले भन्नुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया