आकर्षक बन्दै कीर्तिपुर र चन्द्रागिरीको खोँच, जिपलाइन र मिनीरेल पनि चलाइने

 असोज २४, २०७७ शनिबार ८:४४:१३ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - टाढैबाट टक्क देखिने पिपलको पुरानो चौतारो ।  छेउमा ९० मिटर लामो झोलुङ्गे पुल । वरपर वन, वनमा चराचुरुङ्गीका चिरबिर । तल डरलाग्दो खोँच र खोल्सा । अलि पर ठूल्ठूला घर र भवन । दौडने, उफ्रने मनोरम स्थल । 

गाउँ र सहर दुवैतिरको मिश्रणजस्तो लाग्ने यस्तो रमणीय ठाउँ कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाको सिमानामा छ । यो ठाउँलाई अझ आकर्षक बनाउन चन्द्रागिरी नगरपालिकाले पार्क निर्माण लगायतका काम गरिरहेको छ । ‘भिराडिल खाइके साकुरा पार्क’ नाम दिएर काम भइरहेको हो ।

भीरको डिलमा बनाइएकोले यो पार्कको नाम यस्तो राखिएको चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष उत्तमबहादुर राउतले जानकारी दिनुभयो । साकुरा भनेको जापानको राष्ट्रिय फूलको नाम हो । नेपालमा यसलाई पयूँ फूल भनेर चिनिन्छ । यहाँ केही पयूँका फूल पनि रोपिएको हुनाले साकुरा नाम जोडिएको उहाँले बताउनुभयो ।

कंलकीबाट मोटरसाइकलमा ५ मिनेटमै पुग्न सकिने यो ठाउँ देशकै पहिलो गल्छी पार्क भएको वडाध्यक्ष राउतले दाबी गर्नुभयो । यसलाई अन्तर्राष्ट्रिय गल्फ पार्कको रुपमा विकास गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ । पार्क बनाउने काम नसकिए पनि हेर्न जानेहरुको भने घुइँचो लाग्ने गरेको छ । शनिबारको दिन घुम्न आउनेहरुको सङ्ख्या ४/५ हजार हुने गरेको वडाध्यक्ष राउतले बताउनुभयो । 

पार्कमा घुम्ने र कसरत गर्ने ठाउँसँगै खेलकुद र मनोरञ्जन स्थलसमेत बनाउने काम भइरहेको छ । २ सय ६० मिटर लामो जिपलाइन बनाउने तयारी पनि भएको छ । जिपलाइन तारमा झुण्डिएर खेल्न मिल्ने एकप्रकारको खेल हो ।

यस्तै खोलादेखि माथि ४० मिटर अग्लो घुमाउने भर्‍याङ राख्ने तयारी पनि भइरहेको वडाध्यक्ष राउतले बताउनुभयो । देख्दा आकर्षक देखियोस् र तलमाथि गर्न पनि सजिलो होस् भन्ने उद्देश्यले घुमाउने भर्‍याङ राख्न लागिएको हो । 
‘अरु जस्तै सामान्य भर्‍याङ हो । तर घुमाउरो हुन्छ । त्यही भएर घुमाउने भर्‍याङ भनिएको हो । यो देख्दा अलि आकर्षक हुन्छ भने तलमाथि गर्दा सुरक्षित महशुस गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।  

वडाध्यक्ष राउतका अनुसार पार्कमा एउटा मिनी रेल बनाउने काम पनि भइरहेको छ । यो रेल १२ देखि १५ सिटको हुनेछ । एउटा सिटमा २ जना बस्न मिल्छ । रेल बिजुली बत्तीबाट चल्नेछ । इतिहासलाई स्मरण गर्दै रेल बनाउने तयारी भएको उहाँले बताउनुभयो । वि.सं. १९८८ सालमा मकवानपुरको भीमफेदीबाट काठमाण्डौको मातातीर्थसम्म रोपवे चल्थ्यो ।

रोपवेबाट ल्याइएको सामान मातातीर्थबाट टेकुसम्म रेलमार्फत पुर्याइन्थ्यो । भारतबाट अमलेखगञ्जसम्म रेलमा ल्याइएको सामान भीमफेदीसम्म ट्रकमा राखेर ल्याइन्थ्यो । अनि त्यहाँबाट रोपवेले मातातीर्थ पुर्याउथ्यो । त्यसपछि टेकुसम्म लैजानको लागि रेलको प्रयोग हुने गथ्र्यो ।  त्यो रेल चल्ने मुख्य भाग पनि पार्कमा पर्ने हुनाले मिनी रेल चलाउने योजना बनाइएको वडाध्यक्ष राउतले जानकारी दिनुभयो । 

यसलाई नेपालकै पहिलो दिगो पार्कको रुपमा अगाडि बढाउने काम भइरहेको उहाँले बताउनुभयो । अबको डेढ वर्षमा पार्क व्यवस्थापनको पुरै काम सक्ने लक्ष्य रहेको छ । हेर्न जानेका लागि भने यो पार्क अहिले पनि खुल्ला रहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया