कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
अस्ति माननीयहरुले संसदमा जात्रा देखाए
तर यसमा अचम्म मान्नुपर्ने कारण छैन
जसले जे जानेका थिए त्यही नै देखाए
संसदमा हङ्गामा गरे, ‘जात्रा’ देखाए
यस्तो गरे, उस्तो गरे भन्ने सबैले थाहा पाए
यस्तो हुनुमा के हाम्रो गल्ती छैन ?
हामीले नै जिताएर चुनावमा पठाएको हैन ?
चुनावताका घोक्रो सुक्ने गरी कराएकै हो
राम्रालाई छान्नुपर्छ भनेर भोट हाल्न पठाएकै हो
तर अन्तिम घडीमा बाजी पल्टिन्छ भन्ने के थाहा
कति नोट र रक्सीमा बिकिरहेका रहेछन्
कति मासुभातमा ‘डिल’ गरिरहेका रहेछन्
कतिले दिनकै मासुभात खान पाइन्छ भन्ने सोचे कि !
कतिले सित्तैको पेट्रोलले बाइकमा कुद्न पाइन्छ भन्ने सोचे कि !
तर त्यसलाई केवल नाटक सम्झिएको भए
झुटा सपनाको खाल्डोमा
आँखा चिम्लिएर कुद्नुअघि झस्किएको भए
तातो न तातो मासुभात सेलाउन नपाउँदै
चिसो चिसो ‘बियर’ सेलाउन नपाउँदै
माननीयज्यूले असली रुप देखाएदिए ।
संसद् छिरेपछि हाम्रा माग उठाउलान्
अब त हाम्रा पनि दिन फिर्लान् भनेको त
मुद्दाको साटो कुर्सी पो उठाए
मादल जसरी टेबुल ठटाए
माननीयहरुलाई के जाँगर चलेछ कुन्नि !
आज त केही न केही गर्छु भन्ने लागेछ
यसअघि सिन्का नभाँच्नेले पनि कुर्सी नै भाँचिदिए ।
तर यो नयाँ घटना पनि थिएन
विगतमा पनि संसदमा हङ्गामा भएकै हो
कुर्सी, टेबुल र माइक भाँचिएकै हो
अचम्मको त कुरा के छ भने
यति सबै जान्दा पनि हाम्रो चेत फर्किएन
हरेक पटक भोट हाल्दा मासुभात र चिसो बियर बिर्सिएनौँ
त्यही भएर अहिले छर्लङ्ग याद आइरहेछ
अनि यो गरेन, त्यो गरेन भनेर भन्न पाइन्छ ?
पैसाको खोलो बगाएर संसद् छिरेका माननीयहरु
कतिको ऋण होला, सापटी तिर्नुपर्ने होला
जग्गा, जमिन र दाइजोको करामत पनि होला
कठैबरा गाह्रो छ नि !
भैगो अब यसमा बहस गरेर काम छैन
तर एउटा कुरा चाहिँ सोध्छु, संसद् छिर्नेहरुलाई
‘साँच्ची तपाईँ माननीय कि हाननीय ?’
उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।