ललितपुरमा बलियो र टिकाउ सडक

 असोज २५, २०७७ आइतबार १८:९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले आफ्नाे मातहत अन्तर्गतको सात किलोमिटर सडक निर्माण गरेको छ । 

महानगरपालिकाले सडक विभागबाट अनुमति प्राप्त आठ मिटरसम्मको लम्बाइ भएका सडक निर्माण गरेको हो । जस अन्तर्गत जम्मा १५ किलोमिटर सडकमध्ये सात किलोमिटर सडक निर्माण भइसकेको महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले बताउनुभयो । उहाँका अनुसार बाँकी आठ किलोमिटर सडक पनि निर्माणाधीन अवस्थामा छ । महानगरपालिकामा रहेको २९ वटै वडाका सडक निर्माण भइरहेका छन् ।

सडक गुणस्तरीय नहुँदा निर्माण सम्पन्न भएको केही समय मै सडक बिग्रिएर मर्मत गर्नुपर्ने अवस्था नआओस् भनेर सडक निर्माणमा गुणस्तरमा ध्यान दिइएको महानगरपालिकाले जनाएको छ ।

उपप्रमुख सत्यालले भन्नुभयो , 'महानगरपालिकाभित्र बनेका बलियो र टिकाउ हुन्छ, नयाँ सडकको मोटाइ बढी छ, त्यसैले छिटो बिग्रिने सम्भावना हुँदैन । हाम्रो कार्यकालमा जुन ठाँउमा, जुन शीर्षकमा विकास बजेट खर्च भयो पछि आउने जनप्रतिनिधिले त्यहाँ दोहोर्‍याउन नपरोस् भन्ने उद्देश्यले हामीले काम गरिरहेका छौँ, हामीलाई नागरिकले पनि साथ दिएका छन् ।'  

महानगरपालिकाले केन्द्रकाे १० करोड र आफ्नाे १० करोड रुपैयाँ खर्चेर सडक निर्माणलाई तीव्रता दिएको छ । योसँगै सडक मर्मतका लागि खाल्डाखुल्डी टाल्ने, बाटो खन्न नदिने लगायतका काम पनि भइरहेको छ । सडक निर्माण र मर्मतका लागि गुणस्तरीय निर्माण सामग्री प्रयोग गरेकाले स्थानीयले पनि महानगरपालिकालाई साथ र सहयोग गरिरहेको उपप्रमुख सत्यालको भनाइ छ । 

महानगरपालिकाले जथाभाबी सडक खन्नेलाई कारबाही गरिरहेको पनि जनाएको छ । यसअघि विद्युत् प्राधिकरण, खानेपानी आयोजना, टेलिफोनको तार, ढल निकास तथा मर्मतका लागि विना समन्वय काम हुने गरेकाले सडक बनाउने बित्तिकै बिगार्नुपर्ने बाध्यता थियो । तर महानगरपालिकाले अहिले सडक निर्माण गर्नुभन्दा पहिले सबैसँग छलफल गरेर काम गरेकाले त्यस्तो अवस्था नआउने महानगरपालिकाकी उपप्रमुख सत्यालले बताउनुभयो । महानगरपालिकाले अहिले कसैलाई पनि बाटो खन्न स्वीकृति दिएको छैन । 

यसैबीच ललितपुर महानगरपालिका अन्तर्गत २१ वटा भित्री सडकको निर्माण भइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया