टोलटोलमा शिक्षक पठाएर पठनपाठन सुरु, अधिकांश विद्यार्थीलाई वैकल्पिक शिक्षण प्रणालीले भेटेन

 असोज २५, २०७७ आइतबार २०:४:२३ | सीताराम ओझा
unn.prixa.net

कैलाली – विद्यालय सञ्चालनको विषयमा छलफलमा रहेका कैलालीका पालिकाहरुले विद्यालयमा पठनपाठन सुरु गर्न सम्भव नभएको भन्दै टोल–टोलमा अध्यापन गराउन सुरु गरेका हुन् । 

धनगढी उपमहानगरपालिकासँगै कैलारी गाउँपालिका र घोडाघोडी नगरपालिका क्षेत्रमा टोलटोलमा गएर पढाउन थालिएको छ । एक ठाउँमा बढीमा सात जना विद्यार्थीलाई जम्मा गराइ भौतिक दुरी कायम गरेर पढाउन थालिएको पालिकाहरुले जनाएका छन ।

घोडाघोडी नगरपालिकाका सूचना अधिकारी उमेश रेग्मीले नगरपालिका क्षेत्रका विद्यार्थीलाई टोल–टोलमा शिक्षक पठाएर अध्यापन गराउन थालिएको बताउनुभयो । ‘विद्यालय सञ्चालन गरिएको छैन । बरु विद्यार्थी भएको ठाउँमा शिक्षकहरु गएर पाँच सात जना विद्यार्थीलाई जम्मा गर्दै अध्यापन गराउँदै हुनुहुन्छ’, उहाँले भन्नुभयो । 

सिकाइ केन्द्रमार्फत पढाउन थालेका कैलालीका पालिकाहरुले विद्यालयको समेत प्रयोग गरेका छन् । विद्यार्थीको पायक पर्ने ठाउँमा विद्यार्थीलाई जम्मा गर्दै शिक्षकहरुले पढाउन थालेको कैलारी गाउँपालिकाको शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले बताउनुभयो । ‘कोरोना सङ्क्रमणको त्रास छ । विद्यालय पूर्ण सञ्चालन गर्ने अवस्था छैन तर टोल–टोलमा सिकाइ केन्द्रमार्फत पढाइ हुँदैछ । विद्यालयहरुलाई सिकाइ केन्द्रमार्फत अध्यापन गराउनु भनेका छौँ’, उहाँले भन्नुभयो । 

शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्रीस्तरीय बैठकबाट पारित निर्णय अनुरुप विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार नै कैलालीका पालिकाहरुले विद्यालय सञ्चालन गर्न थालेका हुन् । इन्टरनेट, रेडियो, टेलभिजन तथा कक्षा सञ्चालन गर्न नसकिने भएमा सिकाइ केन्द्रमार्फत पढाउन थालिएको धनगढी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख विष्णुप्रसाद कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपमहानगरपालिकाले कुनै निर्णय भने गरेको छैन तर नेपाल सरकारको निर्देशिकाअनुसार गर्न भनेका छौँ । त्यहीअनुसार विद्यालयहरूले निर्देशिकामा रहेर पठनपाठन गराउँदै छन् ।’

अधिकांश विद्यार्थी वैकल्पिक शिक्षण प्रणालीको पहुँच बाहिर

सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण रोकिएको सिकाइ प्रणालीलाई सुरु गर्न र सामान्य अवस्था नभएसम्मका लागि विद्यार्थीलाई वैकल्पिक विधिबाट अध्यापन गराउन सक्ने गरी विद्यार्थी सिकाइ शिक्षण सहजीकरण निर्देशिका २०७७ ल्याएको छ । यो निर्देशिकाअनुसार विद्यार्थीको पहिचान गर्दै वर्गीकरण गरी स्रोत साधनको पहुँचका आधारमा पाँच वटा माध्यमबाट शिक्षण गराउन सक्ने व्यवस्था गरेको छ ।

निर्देशिकामा सबै प्रविधिको पहुँच बाहिर रहेका विद्यार्थीको समूह, रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी, टेलिभिजनको पहुँचमा भएका विद्यार्थी, कम्प्युटर भएको तर अनलाइन कनेक्टभिटी नभएका विद्यार्थी, इन्टरनेट तथा सूचना सञ्चारका पहुँचमा भएका विद्यार्थीको समूहको पहिचान गरी वर्गीकरण गर्नुपर्ने उल्लेख छ ।

कैलालीमा भने पालिकाहरुले विद्यार्थीको पहिचान र वर्गीकरण नगरि हचुवाको भरमा अध्यापन गराउँदै आएको गुनासो बढ्दो छ । तर कतिपय पालिकाले भने वैकल्पिक सिकाइ प्रणालीको पहुँचमा नभएका विद्यार्थीलाई सिकाइ केन्द्र वा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयमै अध्यापन थालेको जनाएका छन् ।  

कैलारी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख गणेशप्रसाद मिश्रले पालिकाभित्र सहजीकरण निर्देशिकामा उल्लेखित वैकल्पिक विधिअनुसार शिक्षण सिकाइ सञ्चालन गर्न सकिने अवस्था नरहेको बताउनुभयो । एफएम रेडियोको पहुँच प्रायः जसो सबै बालबालिका रहे पनि शिक्षण सिकाइ प्रभावकारी नहुने हुँदा स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालन गर्दै सिकाइ केन्द्र वा विद्यालयमै पढाउन थालेको उहाँले बताउनुभयो ।

पालिकाहरुले विद्यार्थीको वर्गीकरण नगरेपछि शिक्षण सिकाइसमेत प्रभावित हुने देखिएको छ । धनगढी उपमहानगरपालिकामा समेत कतिपय विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै अध्यापन सुरु गरेका बेला विद्यार्थीको पूर्णरुपमा वर्गीकरण हुन नसकेको दाबी गरिएको छ ।

तर उपमहानगरपालिकाको शिक्षा शाखाका शाखा अधिकृत अकबर चन्द भने विद्यार्थीलाई बोलाएर विद्यालयमै कक्षा सञ्चालन गर्न गाह्रो भएकाले वैकल्पिक विधिकै प्रयोग गर्न निर्देशन दिइएको बताउनुहुन्छ । ‘सङ्क्रमणको जोखिम कम भएको छैन । प्रत्यक्ष विद्यार्थी बोलाएर कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन्’, उहाँले भन्नुभयो, ‘सङ्घीय सरकारले बनाएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार नै सिकाइ कार्यक्रम सञ्चालन भइरहेका छन् ।’

यता शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले भने पालिकाहरुलाई सरकारले जारी गरेको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिकाअनुसार अध्ययन अध्यापन गर्न आग्रह गरिँदै आएको जनाएको छ । तर कैलालीका कुन पालिकाले कसरी शिक्षण गरिरहेका छन् भन्ने कुराको अनुगमन हुन सकेको छैन ।

वैकल्पिक सिकाइ प्रणालीको पहुँचमा भएका विद्यार्थीको समूह र पहुँच बाहिर भएकाहरुको पहिचान गरी सिकाइ क्रियाकलाप सञ्चालन गर्न नसके बालबालिकाहरुको शिक्षण सिकाइ प्रभावित हुने शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख प्रतापसिंह धामी बताउनुुहुन्छ । ‘तत्काल औपचारिक रुपमा सामान्य समयमा झैँ विद्यालय सञ्चालन गर्न सरकारले अनुमति दिएको छैन’, उहाँले भन्नुभयोे, ‘अहिले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा उल्लेख गरिएका वैकल्पिक विधिको प्रयोग गरेर सिकाइ क्रियाकलाप सञ्चालन गर्ने नै हो । सबै पालिकामा विद्यालयहरूले वैकल्पिक विधि र सिकाइ केन्द्रमार्फत पठनपाठन नगरे विद्यार्थीको शिक्षण सिकाइ प्रभावित हुने देखिन्छ ।’

कोरोना सङ्क्रमणका कारण शैक्षिक सत्रको आधा समय बितिसक्दा पनि शिक्षण सिकाइमा भाग लिन नपाउँदा हजारौँ बालबालिकाको पढाइ प्रभावित भइरहेको छ । पालिकाहरुले समेत विद्यार्थीको पहिचान गर्दै त्यही अनुसार अध्ययन अध्यापन गराउन नसकेमा उनीहरुको भविष्य सङ्कटमा पर्ने निश्चित छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया