गेटा मेडिकल कलेजमा विसं २०८० भित्र एमबीबीएसको पढाइ सुरु हुने

 असोज २५, २०७७ आइतबार १८:५०:१० | सीताराम ओझा
unn.prixa.net

कैलाली – गेटा मेडिकल कलेजमा आउँदाे २०८० सालभित्र एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

२७ दिनदेखि आमरण अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच भएको आठ बुँदे सहमतिमा गेटा कलेजमा २०८० सालको फागुन १० गतेभित्र एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी भएको पहिलो बुँदाको ‘ख’ मा गेटा मेडिकल कलेजको कलेज भवन निर्माण सम्पन्न भइसकेको, अस्पताल भवन, छात्रावास भवन, कर्मचारी भवनलगायतका भौतिक पूर्वाधारको ८० प्रतिशत निर्माणको काम सकिएको भनिएको छ ।

मन्त्री परिषदमा रहेको एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विधेयकलाई सङ्घीय संसद्को हिउँदे अधिवेशनमा पेस गरी ऐन जारी भएपछि पूर्वाधार र जनशक्ति पूरा गरेर राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम निर्धारित समयावधि २०८० को फागुन १० भित्र एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । सरकारले २०६६ मा कलेज स्थापनाको घोषणा गरेकाेमा प्रक्रियागत ढिलाइका कारण निर्माण कार्य भने २०७३ सालदेखि मात्रै सुरु गरिएको थियो ।

सरकारले तत्कालीन समयमा गेटा कलेजलाई दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडि बढाउन विधेयककाे मस्यौदा बनाएको थियो । तर संविधान सभा विघटन भएपछि काम अगाडि बढ्न सकेको थिएन । 

अन्तिम अपडेट: चैत १३, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया