वैतेश्वर जग्गा काण्ड : गाउँपालिकाका उपाध्यक्षसहित तीन जनालाई नेकपाले कारबाही गर्‍याे

 असोज २५, २०७७ आइतबार २०:३२:६ | उषा तामाङ
unn.prixa.net

दोलखा – स्थानीयवासीले दान गरेको जग्गा अपचलन संलग्न भएको भन्दै वैतेश्वर गाउँपालिकाका उपाध्यक्षसहित तीन जनालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले कारबाही गरेको छ । गाउँपालिका सङ्गठन कमिटिद्वारा गठित छानबिन समितिले गाउँपालिकालाई स्थानीयवासीले दान गरेको जग्गा अपचलन भएको ठहर गर्दै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । 

नेकपा पार्टी कार्यालय चरिकोटमा आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा जग्गादाता व्यक्तिहरुको जग्गा बालकुमार दाहाल तथा पदमबहादुर दाहालका नाममा रजिस्ट्रेशन पारित गर्नु, अहिलेसम्म ४३ दशमलव ९ रोपनी जग्गामात्र गाउँपालिकाको नाममा आउनु र झण्डै तीन वर्षसम्म व्यक्तिको जग्गा फिर्ता नहुनु वा गाउँपालिकाको नाममा नगइ व्यक्तिको नाममा भएको उल्लेख छ । 

नागरिकबाट जग्गा व्यवस्थापन समितिका सदस्य बालकुमार दाहाल र पदमबहादुर दाहालका नाममा पारित गरेको जग्गा जनप्रतिनिधिका श्रीमती र आफन्तहरुका नाममा रजिस्ट्रेशन पारित गरी लिनु र गाउँपालिकाद्वारा बनाइएको छानबिन समितिको प्रतिवेदनसहितमा खर्च मिलान गर्न जग्गा बिक्री गरिएको स्वीकारोक्ति भएकोले जग्गा अपचलन भएको नेकपा दोलखाको ठहर छ । 

नेकपा दोलखाले वैतेश्वर गाउँपालिकाको स्थायी केन्द्रका लागि स्थानीयवासीले दान गरेको जग्गा अपचलनमा संलग्न नेकपा वैतेश्वर गाउँपालिका सङ्गठन कमिटीका सदस्य तथा जग्गा व्यवस्थापन समिति सदस्य पदमबहादुर दाहाललाई सङ्गठित सदस्य तथा गाउँपालिका सङ्गठन कमिटीको सदस्य पदबाट निलम्बन गर्ने निर्णय गरेको छ । 

त्यसैगरी जग्गा व्यवस्थापन समितिका सदस्य बालकुमार दाहालका नामबाट श्रीमती सीता आचार्यका नाममा जग्गा पारित गराइ लिने नेकपा जिल्ला सङ्गठन कमिटीका सदस्य एवम् गाउँपालिकाका उपाध्यक्ष रवीचन्द्र आचार्यको सङ्गठित सदस्य तथा जिल्ला सङ्गठन समितिको सदस्य पद निलम्बन गरी कारबाही गर्न नेकपा वाग्मती प्रदेश कमिटीमा लेखी पठाउने निर्णय गरेको छ । उपाध्यक्ष आचार्य तत्कालीन नेकपा माओवादीबाट निर्वाचित हुनुभएको थियो ।  

त्यसैगरी समग्र जग्गा अपचलनका सूत्रधार नेकपा जिल्ला सङ्गठन समितिका सदस्य तथा जग्गा व्यवस्थापन समिति सदस्य बालकुमार दाहालको सङ्गठित सदस्य तथा जिल्ला सङ्गठन समितिको सदस्य पद निलम्बन गरी कारबाही गर्न नेकपा वाग्मती प्रदेश कमिटीमा लेखी पठाउने निर्णय भएको छ । 

साथै नेकपा दोलखाले सम्बन्धित तीनै जना व्यक्तिहरुलाई राजनैतिक नैतिकताका आधारमा गाउँपालिका वा सम्बन्धित जग्गा धनीलाई जग्गा फिर्ता गर्नसमेत निर्देशन दिएको छ । 

निर्वाचित जनप्रतिनिधिहरु अध्यक्षलगायतका श्रीमती र आफन्तका नाममा जग्गा अपचलन भएको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत न्यायालय जान बाटो खुला रहेको र त्यसका लागि नेकपाले पनि सहयोग गर्ने अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो । 

प्रतिवेदनअनुसार गाउँपालिकालाई जग्गा दान गर्ने व्यक्तिलाई सोधभर्ना गर्न पालिकाका २८ जना व्यक्तिले १३ हजार दुई सय ५१ वर्गमिटर जग्गा दिएका थिए । त्यो जग्गाबाट ११ हजार तीन सय ९३ वर्गमिटर जग्गा दान गर्ने दातालाई सोधभर्ना गरिएको थियो ।

बाँकी रहेको एक हजार आठ सय ५८ वर्गमिटर जग्गा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित वडाध्यक्ष र जग्गा व्यवस्थापन समितिको नाममा पास गरिएको थियो । नेकपा दोलखाले आफ्ना जनप्रतिनिधि र सदस्यलाई कारबाही र सिफारिस गर्ने निर्णय गरे पनि नेपाली कांग्रेसले आफ्ना पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष तथा चार जना वडाध्यक्षको हकमा कुनै निर्णय सार्वजनिक गरेको छैन ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया