वरदान साबित भयाे साैर्य सिँचाइ, पहिले बाँझाे रहने खेत अहिले तरकारी र अन्नबालीले भरियाे

 असोज २६, २०७७ सोमबार १९:४०:१९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मनहरी गाउँपालिका ३ काे भुन्द्रुङका रमेश पुरीलाई पानी अभावकै कारण हिउँद माैसममा खेतीपाती गर्न निकै समस्या हुने गरेकाे थियाे । पुरी मात्रै हैन यहाँका थुप्रै किसानले सिँचाइकाे समस्या भाेग्नुपरेकाे थियाे ।

तर वाग्मती प्रदेशको कृषि विकास निर्देशनालय हेटौँडाले साना किसानका लागि लक्षित गरेर सौर्य सिँचाइ कार्यक्रमबाट सोलारबाट सिँचाइ गर्ने प्रविधि जडान गरेपछि पुरीलगायत थुप्रै किसानकाे समस्या समाधान भएकाे छ । 

अहिले उनीहरुलाई हिउँदयामको तरकारी र धान खेती गर्न निकै सहज भएकाे छ । पुरीसँगै यस क्षेत्रका सात जना किसानले सौर्य साेलारबाट सिँचाइ गरिरहेका छन् । पहिले हिउँदयाममा बाँझो रहने खेत अहिले भने तरकारी र अन्नबालीले भरिएकाे छ ।

चितवन खैरेनी नगरपालिका १० काे वरगाउँका राजु चौधरीकाे पनि उस्तै अनुभव छ । उहाँले सौर्य सिँचाइ गर्न पाएपछि हिउँदयाममा बाँझो रहने खेत अहिले हरियाली बनाउनुभएको छ । आफ्नो दुई बिघा खेतमा धान लगाउनुभएको छ । 'खेतमा विद्युत् तारसमेत पुगेकाे थिएन । सिँचाइ गर्न निकै समस्या भएकाे थियो । तर सौर्य ऊर्जाबाट सबै सहज भएको छ ,' उहाँले भन्नुभयाे ।

चाैधरीसँगै खैरेनीको वडा नम्बर ७, ८, १२ का किसानले सौर्य ऊर्जाबाट खेती गरिरहेका छन् ।

साना किसानका लागि लक्षित गरेर ल्याइएको यस कार्यक्रमबाट धेरै खालका सुविधा पुगेको कृषि विकास निर्देशनालय हेटौँडाका कृषि इन्जिनियर मोदनाथ तिमल्सिनाले बिताउनुभयो । विभिन्न कम्पनी, सहकारी र समूहलाई गरेर गएकाे आर्थिक वर्षको बजेटमा ९६ वटा सौर्य सिँचाइका कार्यक्रम चितवन र मकवानपुरमा गरिएको कृषि विकास निर्देशनालय हेटौँडाका निर्देशक रविन्द्रबहादुर प्रधानले बताउनुभयो ।

उपभोक्ता समितिमार्फत किसानको २० प्रतिशत र निर्देशनालयको ८० प्रतिशत लगानीमा कार्यक्रम गरिएको उहाँले बताउनुभयो । यो कार्यक्रमबाट साना किसानका लागि धेरै खालका फाइदा पुगेको समेत उहाँकाे बुझाइ छ ।

साना खालका किसानका लागि समेट्ने धेरै खालका कार्यक्रम नभए पनि सौर्य सिँचाइ कार्यक्रमबाट साना किसानहरुलाई समेटिएकाले उनीहरुका लागि थप सहयोग पुगेको निर्देशनालयका प्राविधिक सहायक डीएन दाहालले बताउनुभयो । 

यो कार्यक्रम निर्देशनालयले विद्युत् नपुगेका ठाउँका किसानलाई लक्षित गरेर काम गरेको निर्देशक प्रधानले जानकारी दिनुभयो । किसानका लागि चार लाख रुपैयाँ लागतदेखि नाै लाख रुपैयाँसम्मको सौर्य ऊर्जा जडान गरेर कुल पाँच करोड ५४ लाख रुपैयाँ लागतमा किसानहरुका लागि सौर्य ऊर्जा जडान गरिएको कृषि इन्जिनियर मोदनाथ तिमल्सिनाले बताउनुभयो । 

सौर्य ऊर्जा जडान गरेपछि अहिले हिउँदयाममा समेत धान खेती र तरकारी खेती गर्नका लागि किसान उत्साहित भएर काम गरेको प्राविधिक सहायक दाहालले बताउनुभयो । प्रत्येक किसानले एकदेखि चार बिघा क्षेत्रफलसम्ममा सौर्य सिँचाइ गरेका छन् ।

मकवानपुर र चितवनका किसान सौर्य सिँचाइ कार्यक्रम वरदान साबित भएको बताउँछन् ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया