‘एन्टिजेन परीक्षणको नतिजा १५/२० मिनेटभित्रै आईसक्छ, मान्यता पीसीआर सरह नै हुन्छ’

 असोज २८, २०७७ बुधबार ८:२३:२९ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – अब एन्टिजेन विधिबाट कोरोना परीक्षण हुने भएको छ । ‘नेशनल टेष्टिङ गाइडलाइन फर कोभिड १९’ मा चौथो संशोधन गर्दैै यो नयाँ विधिबाट समेत कोरोना परीक्षण गर्न लागिएको सरकारले जनाएको छ ।

यो परीक्षणको लागि एक हजार रुपैयाँ शुल्क लाग्छ । एन्टिजेन परीक्षणबारे टेकमान शाक्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी एवं प्रयोगशाला विज्ञ राजेश गुप्तासँग कुराकानी गर्नुभएको छ ।

एन्टिजेन विधिबाट कोरोना परीक्षण कसरी हुन्छ ?

पीसीआर परीक्षणका लागि नाक र मुखबाट स्वाब लिने गरिन्छ । यसमा पनि पीसीआर परीक्षणका लागि जस्तै गरेर स्वाब संकलन गरिन्छ । स्वाब संकलनपछि पफरजस्तो बस्तु मिसाएर र्यापिड डाईग्नोष्टिक किटमा मिसाएर यसको परीक्षण गर्ने गरिन्छ । यसको नतिजा १५ देखि २० मिनेटसम्ममा आईसक्छ ।

यसको रिपोर्ट पोजेटिभ आयो भने कोरोना पोजेटिभकै मान्यता हुन्छ । पीसीआर परीक्षण गरिरहनुपर्दैन । यदि शरीरमा कुनै लक्षण छैन र नेगेटिभ रिपोर्ट आयो भने ७ दिनसम्म पर्खनुपर्छ । ७ दिनसम्म पनि कुनै लक्षण देखिएन भने डराउनुपर्दैन कुनै परीक्षण पनि गर्नुपर्दैन ।

यदि लक्षण छ तर एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आयो भने चाहिँ के गर्ने ?

कोरोनाको लक्षण छ तर एन्टिजेन परीक्षणको नतिजा नेगेटिभ आयो भने चाहिँ उनीहरुको पीसीआर परीक्षण गर्नुपर्छ । लक्षण छैन र रिपोर्ट पनि नेगेटिभ आयो भने केही पनि गर्नुपर्दैन ।

लक्षण छ तर रिपोर्ट नेगेटिभ आयो भने फेरि पीसीआर परीक्षण गर्नुपर्ने भन्नुभयो । यो त दोहोरो काम भएन र ?

यस्तो अवस्था धेरैमा आउँदैन । एन्टिजेन परीक्षणका लागि जुन कीट छ, त्यसमा डिडेक्टिभिटी र सेन्सेटिभिटी राम्रै रहेको छ । यो विधि अन्तर्राष्ट्रिय रुपमै प्रयोगमा ल्याईएको छ । सबैमा नेगेटिभ नै आउँछ र सबैले पीसीआर नै गर्नुपर्छ भन्ने कुरा चाहिँ होइन । लक्षण छैन र रिपोर्ट नेगेटिभ छ भने पीसीआर परीक्षण गर्न पर्दैन । लक्षण भएर पनि रिपोर्ट नेगेटिभ भएको खण्डमा मात्रै गर्ने हो । तर केहीमा मात्रै यस्तो हुन सक्छ ।

अहिलेसम्मको अभ्यासलाई हेर्ने हो भने स्वास्थ्यमा केही समस्या आयो अथवा कन्ट्रयाक ट्रेसिङमा परियो भने पीसीआर परीक्षण गरिदै आईएको छ । अहिले फेरि यसको महत्व किन र आवश्यकता के का लागि ?

अझै पनि पीसीआर परीक्षण सबै ठाउँमा उपलब्ध हुन सकेको छैन । यसका लागि पीसीआरका लागि जस्तै ठूलो ल्याबको आवश्यकता पनि पर्दैन । जहाँ पिसीआर परीक्षणको सुविधा पुग्न सकेको छैन त्यस ठाउँमा यो निकै उपयोगी मानिन्छ । कसैलाई तुरुन्तै रिपोर्ट चाहियो भने उसले यो परीक्षण गर्ने हो ।

एन्टिजेन्ट परीक्षणको मान्यता पनि पीसीआर परीक्षणकै जतिकै हुने हो भने पीसीआर परिक्षणको झन्झटतिर नलागे पनि हुने हो अब ?

होइन । पीसीआरलाई विस्थापित गर्ने होइन, यसलाई त अझै बढाउने काम भैरहेको छ । एन्टिजेन परीक्षणलाई विकल्पको रुपमा मात्रै ल्याईएको हो । जहाँ पीसीआर परीक्षणको सुविधा पुग्न सकेको छैन त्यस्ता ठाउँका लागि एन्टिजेन परीक्षण गर्ने भनिएको हो । यो सिधै कोरोना भाइरसकै परीक्षण हो भनेर बुझ्नुपर्छ ।

कोरोना परीक्षण गर्न चाहिरहेकाहरुले सबैभन्दा पहिले पीसीआर परीक्षण गर्ने की एन्टिजेन परीक्षण गर्ने अब ?

गाईड लाइनभित्र परेकाहरुका लागि सरकारले निःशुल्क पीसीआर परीक्षणको व्यवस्था सरकारले गरेको छ । जसलाई तत्काल कोरोनाको रिपोर्ट तत्काल आवश्यक परेको छ, उसले एन्टिजेन परीक्षण गराउन सक्छन् । एन्टिजेन परीक्षणको रिपोर्टको मान्यता पीसीआरको रिपोर्ट जत्तिकै हुन्छ । डब्लूएचओदेखि स्वास्थ्य सम्बन्धी निकायले र्यापिड एन्टिजेन्टबाट पोजेटिभ आएकालाई कोरोना पोजेटिभ नै मान्ने भनेर भनिसकेको अवस्थामा यसमा कुनै दोधार मान्नुपर्ने आवश्यकता छैन ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया