दशैँअघि नै ढकमक्क फुल्यो सयपत्री : तिहारसम्म जोगाउनै मुस्किल ! (फाेटाे फिचर)

 कात्तिक ४, २०७७ मंगलबार ७:२:२६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - अहिले आँगनी छेउमा लहरै रहेका सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । घर-आँगनी छेउमा पहेंलपुर फुलेका फूलले आनन्दित तुल्याएको छ ।

सुन्दरबजार नगरपालिका-६, की सन्तुमाया बुढाप्रिथी भन्नुहुन्छ ‘ढकमक्क फूल फलेका छन् । घर अगाडि पहेंलपुर फुलेका फूल देख्दा रमाइलो लागेको छ,’ ।

अहिले लमजुङका घर, आँगन, बारीे ढकमक्क फुलेका रङ्गीचङ्गी फूलमा सजिएका छन् । ढकमक्क फुलेका फूलले सबैको मनै लोभ्याएको छ । सुन्दरबजार नगरपालिका-९, पैह्रेकी चाँदनी रिजाल अधिकारीको घर आँगनी छेउमा पनि ढकमक्क सयपत्री फुलिसकेका छन् ।

उहाँले वर्षेनि तिहारमा आफ्ना चार दाजुभाइलाई घरमै फुलेका फूलका माला लगाइदिँदै आउनुभएको छ ।

तर यसवर्ष दशैँ नआउँदै फूल फुलिसकेकाले तिहारसम्म फूल जोगाउन गाह्रो होला कि ! भन्ने चिन्ता लागेको छ, उहाँलाई । ‘दशैँ नआउँदै सयपत्री फूल फुल्न थालिसकेका छन् । तिहार आउनै अझै एक महिना बाँकी छ,’ उहाँले भन्नुभयो, ‘फूल ओइलिएर जान सक्छ । तिहारसम्म फूल जोगाइराख्न गाह्रो होला कि भन्ने चिन्ता छ ।’

यस वर्ष तिहारको भाइटीका मंसिर १ गते सोमबार परेको छ । पछिल्लो समय तिहारमा गाउँघरमा पाइने फूलका मालाभन्दा पनि सजिलोका लागि बजारमा पाइने कृत्रिम मालाको प्रयोग गर्ने प्रचलन बढ्दो छ ।

नेपाली संस्कारमा फूल र फूलको मालाको आफ्नै महत्व रहेको जानकारहरु बताउँछन् । सकेसम्म फूलको मालाको प्रयोग गर्नुपर्ने र घर-आँगनी, बारी छेउमा पुष्प खेती गर्न सकेमा यसबाट मनग्य कमाउन सकिने सरोकारवालाहरु बताउँछन् ।

अन्तिम अपडेट: चैत १९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया