रुकुम पूर्वमा चार हजार बेरोजगार सूचीकृत

 कात्तिक ३, २०७७ सोमबार १५:२३:१८ | रासस
unn.prixa.net

रुकुम – प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम पूर्वमा झण्डै चार हजार  बेरोजगार सूचीकृत भएका छन् ।

आर्थिक वर्ष २०७७÷०७८ का लागि जिल्लाका तीन गाउँपालकाबाट  चार हजार १६७ व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् ।

सरकारले गएको साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको पालिकाको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

तोकिएको समयावधिभित्र फाराम भरेकाबाट वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार छानिई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हो ।

सबैभन्दा बढी पुथाउत्तरगङ्गा गाउँपालिकाबाट एक हजार ८४३  बेरोजगार सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक अनिता भुसालले बताउनुभयो ।

 यस्तै सिस्ने गाउँपालिकाबाट एक हजार ६०६  बेरोजगार सूचीकृत भएको सिस्ने गाउँपालिका रोजगार संयोजक सुशीलाकुमारी सिंहले जानकारी दिनुभयो ।  सबैभन्दा कम भूमे गाउँपालिकाबाट ७१८  बेरोजगार सूचीकृत भएका छन् । सूचीकृतलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाले जनाएका छन् ।
   

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया