दोलखाको भीमेश्वर नगरपालिकाले नगरवासीको पीसीआर परीक्षण र उपचार निःशुल्क गर्ने

 कात्तिक ४, २०७७ मंगलबार २०:४:२६ | उषा तामाङ
unn.prixa.net

दोलखा -  दोलखा भीमेश्वर नगरपालिकाको ५९ औँ नगर कार्यपालिकाको बैठकले  लक्षण देखिएका सङ्क्रमितहरुलाई आइसोलेशनमा राखी उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ । 

बैठकले नगरवासीहरुमा कोरोना भाइरस रोग सङ्क्रमण भइ लक्षण देखिएको अवस्थामा निःशुल्क पीसीआर परीक्षण गर्ने र पोजिटिभ नतिजा आइ उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाको विपद् कोषबाट खर्च गर्ने निर्णय गरेको हो । 

त्यसैगरी मङ्गलबार बसेको बैठकले सदरमुकाम चरिकोटको सातदोबाटोमा निर्माण भइरहेको सार्वजनिक शौचालयसहितको बहुउद्देश्यीय भवन निर्माण अवधि थप गर्न नगर विकास कोषलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

कोषको अनुदान तथा ऋण सहयोगमा निर्माण भइरहेको भवन निर्माण लकडाउनका कारण रोकिएको भन्दै नेपाल सरकारको निर्णयअनुसार कात्तिक मसान्तसम्म म्याद थप गरेको थियो । त्यो भवनका लागि नगर विकास कोषबाट खटाएका कन्सल्टेन्सीबाट समेत चैत्र मसान्तसम्म म्याद थपको सिफारिस भएकाले कोषलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

त्यसैगरी प्रस्तावित सातदोबाटो सपिङ कम्प्लेक्स सिनेमा हलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको र डीपीआर अनुसार १७ करोड ११ लाख ९६ हजार पाँच सय ७३ रुपैयाँ लागत लाग्ने भएकाले ऋण तथा अनुदानका लागि नगर विकास कोषसँग अनुरोध गर्ने निर्णय गरिएको छ । 

अब प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट अस्पताल

चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई चरिकोट अस्पतालको रुपमा नामाकरण गरिएको छ । भीमेश्वर नगरपालिकाले विगतमा न्याय हेल्थ नेपाल र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबीच भएको सम्झौताअनुसार अस्पताल सञ्चालन भएको थियो । अस्पतालको सेवा विस्तार गर्न आवश्यक पर्ने जनशक्ति भने प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको प्राविधिक टोलीले तयार पारेर अस्पताल व्यवस्थापन समिति बैठकको निर्णयअनुसार प्राप्त दरबन्दी विवरण कार्यपालिकाबाट स्वीकृत गरी आउँदो नगर सभामा अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको छ । 

त्यसैगरी चरिकोट अस्पतालको विस्तारित सेवाका लागि भौतिक पूर्वाधार, स्वास्थ्य पूर्वाधारलगायत फार्मेसी पूर्वाधार सुधार गर्ने भएको छ । त्यसका साथै अन्य पूर्वाधारको सामान्य मर्मत सम्भार तथा न्यूनतम थप पूर्वाधार निर्माण गर्न लागत अनुमानसहितको सुझाव प्रतिवेदन कात्तिक मसान्तसम्म पेस गर्न कार्य टोली गठन गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया