द्वन्द्वकालमा समेत नरोकिएको ‘हाउजी’ यसपालि खेलाइएन

 कात्तिक ५, २०७७ बुधबार १२:२९:३४ | सुजता सुनुवार
unn.prixa.net

इलाम – दशैँ तिहार भन्नासाथ इलाममा परम्परागत रुपमा खेलाइँदै आएको हाउजी (बिङ्गो) खेल विजेताले पाउने पुरस्कारको चर्चा चल्थ्यो । 

यो खेल दशैँको घटस्थापनादेखि तिहारको भाइटीकाको दिनसम्म खेलाइन्थ्यो । हरेक साँझ बिङ्गो खेल्न इलामका मात्रै होइन जिल्ला बाहिरबाट पनि बिङ्गोको पारखी आइपुग्थे । जिल्ला छाडेर काम विशेषले अन्यत्र बस्नेहरु दशैँ तिहारको बेला खेलिने बिङ्गोमा सहभागी हुन्थे । सदरमुकाममा खेलाइने बिङ्गो भेटघाटको राम्रो थलो पनि हुने गरेको थियो ।

‘यहाँ यो खेल सामाजिक कार्यका लागि खेलाइने गरिएको थियो’, पत्रकार तथा बिङ्गो खेलाउन सिपालु स्थानीय सुदिप श्रेष्ठ भन्नुहुन्छ, ‘पाँचथर, ताप्लेजुङ्ग, झापा लगायत जिल्लाबाट समेत यो खेल खेल्न मानिसहरु इलाम आउने गर्थे ।’

चरम द्वन्द्वको बेला समेत कहिल्यै स्थगित नभएको खेल यस वर्ष भने कोरोना महामारीका कारण स्थगित भएको छ । महामारीका कारण बिङ्गो नहुने भएपछि बिङ्गो पारखीहरुले खल्लो मानिरहेका छन् । स्थानीय तह गठन हुुनु भन्दा पहिले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बिङ्गो खेलाइन्थ्यो । पछि इलाम नगरपालिकाले खेलको लागि अनूमति दिन थालेको हो । 

अन्यत्र व्यावसायीक रुपमै खेल खेलाइने भए पनि इलाममा भने मनोरञ्जनका साथै सामाजिक कामको खर्च जुटाउने उद्देश्यले खेलाइन्छ । वर्षैपिच्छे फेरिएर विभिन्न सामाजिक संघसंस्थाले बिङ्गो खेलको आयोजना गर्दै आएका थिए । 

विक्रम सम्बत २०१८ सालमा इलामका तत्कालिन बडाहाकिम (पूर्वमन्त्री) प्रकाशचन्द्र मुखियाले इलाम सदरमुकाममा बिङ्गो खेल भित्र्याएको जानकारहरु बताउँछन् । अन्य ठाउँमा जुवाको रूपमा बिङ्गो खेलिने गरेको भए पनि इलाममा भने संस्कृतिको रूपमा खेल्ने, खेलाइने गरिएको छ ।

बिङ्गोबाट यस अघि संकलित रकमबाट इलामको ठूलो टुँडिखेल मर्मत, ब्लड बैंक भवन निर्माण, नेपाल पत्रकार महासंघ इलामको भवन निर्माण, इलाम चोकबजारमा रहेको पिपिटावर निर्माण गरिएको थियो । यस्तै माइभ्याली गोल्डकप सञ्चालनको लागि श्रोत जुटाउन, पर्यटन प्रवद्र्धनको काममा श्रोत जुटाउने लगायतका काममा पनि खर्चिने गरिएको छ ।

इलाममा बिङ्गो खेल चर्चामा आएपछि भने पूर्वका धरान, झापा र ताप्लेजुङ्गमा समेत पछिल्लो समय खेलिन थालिएको श्रेष्ठले बताउनुभयो । 

जिल्ला बाहिर रहेकाहरु दशैँको बेला घर फर्किने क्रम यस वर्ष कम भएको छ । यस्तै पहिले ठाउँ–ठाउँमा राखिएका लिङ्गे पिङ र विभिन्न खेलकुद प्रतियोगिताले दशैँको बेला गाउँघर तथा शहर–बजारलाई पुरै तताउँथ्यो । यस वर्षको दशैँमा भने ठीक उल्टो भएको छ । सबैतिर सुनसान छ । महामारीका कारण आफ्नो गृहजिल्ला आउन नपाउँदा धेरैको मन खल्लो भएको छ ।

‘घर आउन नपाउदा आसुँ मात्रै झार्न सकेको छुइन नी, दुःख त कति हो कति लागेको छ’ इलामकी देवकुमारी सुनुवार भन्नुहुन्छ, ‘के गर्नु मर्नु भन्दा बौलाउनु निको भन्ने लागेर यस वर्ष परिवारदेखि छुट्टै बस्ने निर्णय गरेँ ।’ 

जिल्लामा १० पालिका छन् । यी सबै पालिकामा फूटबल प्रतियोगिता हुन्थे । सबै खेलको समापन फूलपातीका दिन गरिन्थ्यो । यस पटक भने कतै प्रतियोगिता नहुने भएको अखिल नेपाल फूटबल संघका केन्द्रिय सदस्य निरोज खड्गीले बताउनुभयो । 

‘दिनमा पाँचवटा प्रतियोगिताको अतिथीको आसन ग्रहण गर्नु पथ्र्यो । कति ठाउँमा त समय नपुगेकाले रिसाएका पनि छन्’, विगत स्मरण गर्दै खड्गीले भन्नुभयो, ‘अहिले त पहिलेको जस्तो व्यस्तता पनि छैन, चाडबाड साच्चै नै खल्लो लागेको छ ।’

कोरोनाका कारण खेलकुद प्रतियोगिता नहुँदा खेलाडीहरुको दक्षतामा कमी आउँछ कि भन्नेमा उहाँ चिन्तित हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया