स्वास्थ्य मापदण्ड पालना गरेर पचली भैरव जात्रा सम्पन्न

 कात्तिक ६, २०७७ बिहिबार ६:४९:५४ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्ड पालना गरेर काठमाण्डाै टेकुमा रहेको पचली भैरव जात्रा सम्पन्न भएको छ।

हरेक वर्ष असोज शुक्ल पञ्चमीका दिन मध्यरातसम्म सञ्चालन हुने जात्रा यसवर्षका कोरोनाका कारण दिउँसो नै गरिएको हो ।

जात्राको क्रममा  बुधबार दिउँसो पचली भैरवको आकृतिसहितको सुनको घ्याम्पो, अजिमा र रुद्र विनायक नायखी गणेशलाई टेकुबाट लगन, ज्याबहाल, जैसी देगल, चिकंमुगल, हनुमाढोका परिक्रमा गराइएको थियोे । त्यस्तै परम्परा अनुसार  जीवित देवी कुमारीलाईे भैरवको दर्शन गराइएको थियो ।

यसवर्षको जात्रामा पीपीई, मास्क, फेसशिल्ड लगाएका भक्तजनहरुले देवताको खट बोकेका थिए । हनुमानढोकामा बली दिएपछि देवदेवीलाई आ-आफ्नो ठाउँमा फर्काएपछि यसवर्षको पचली जात्रा सकिएको हो । आजको जात्राका लागि हिजो मंगलबार पचली भैरवसहितको घ्याम्पोलाई भीमसेनस्थानबाट पचलीमा लगिएको थियो भने विशेष पूजासहित होम गरिएको थियो । 

उपत्यकाका जात्राहरुमध्ये दशैँको समयमा हुने पचली भैरवको जात्रालाई महत्वपूर्ण जात्राको रुपमा लिइन्छ ।

(फोटोः राकेश खड्गी)

अन्तिम अपडेट: बैशाख ५, २०८१

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया