'रअ' प्रमुखलाई मैले भेटेको छैन : माधवकुमार नेपाल

 कात्तिक ६, २०७७ बिहिबार १३:४२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वप्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुखसँग भेट नभएको बताउनुभएको छ । 

बिहीबार दिउँसो सामाजिक सञ्जाल ट्विटर नेता नेपालले यसबारेमा प्रष्ट पार्नुभएको छ । कतिपय सञ्चारमाध्यममा माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी आएका खबरमा सत्यता नभएको उहाँले बताउनुभएको हो । 

उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘म र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोकल्पित र भ्रामक समाचारहरु प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरुको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’  

रअका प्रमुख समान्तकुमार गोयल बुधबार बेलुकी विशेष जहाजमार्फत काठमाण्डौ आउनुभएको थियो । उहाँ आउनुभएको प्रयोजन र कुन–कुन नेतासँग भेट गर्ने भन्नेबारेमा केही बताइएको थिएन । उहाँ बिहीबार बिहान भारत फर्किसक्नुभएको छ । 

आउँदो कात्तिक १८ गते भारतीय सेनाध्यक्ष एमएम नरभाने नेपाल आउनुअघि रअ प्रमुखको आगमनलाई महत्त्वका साथ हेरिएको थियो ।    

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया