सरकारले काेराेना परीक्षण र सङ्क्रमितकाे उपचार निःशुल्क गर्ने व्यवस्था मिलाओस् : कांग्रेस सभापति देउवा

 कात्तिक ६, २०७७ बिहिबार १७:३३:४ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निःसर्त, विना भेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गर्नुभएको छ । 

सभापति देउवाले बिहीबार एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको याे अवस्थामा नागरिककाे अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिनुभएको छ । 

उहाँले कोभिड–१९ को परीक्षण र सङ्क्रमित नागरिकले उपचारसमेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गर्नुभएको छ । 'आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानुनी हक हो । सरकारले विना सर्त यसको कार्यान्वयन गर्नुपर्छ' विज्ञप्तिमा भनिएको छ । 

उहाँले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै सक्रिय सङ्क्रमितको शीघ्र स्वास्थ लाभको कामनासमेत गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया