प्रधानमन्त्रीले विदेशी गुप्तचरसँग भेट्नु कुटनीतिक मर्यादाकाे उल्लङ्घनका साथै राष्ट्रिय सुरक्षामा चुनाैती : गगन थापा

'केही बुद्धिजीवीहरुले प्रधानमन्त्री र गोयलबीचको भेटघाटको बचाउ गरेकाे देख्दा अचम्म लाग्छ'

 कात्तिक ७, २०७७ शुक्रबार १५:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था 'रअ' का प्रमुख सामन्तकुमार गोयलबीचको भेट आपत्तिजनक भएको बताउनुभएको छ ।

सांसद थापाले शुक्रबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादाको उल्लङ्घनका साथै राष्ट्रिय सुरक्षामा नै चुनौती देखाएको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभागको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको थापाले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ । केही बुद्धिजीवीहरुले प्रधानमन्त्री र गोयलबीचको भेटघाटको बचाउ समेत गरेको भन्दै थापाले राष्ट्रिय सुरक्षाका विषयमा यस्तो भनेको देख्दा अचम्म लागेको बताउनुभएको छ ।

नेपाल–भारतबीच विवादका विषयमा छलफल हुनुपर्नेमा कसैको विमति नरहेको तर प्रक्रिया र कुटनीतिक पद्धतिअनुसार हुने र हुनुपर्ने थापाको भनाइ छ । बुधबार नेपाल आउनुभएका 'रअ' का प्रमुख गोयल बुधबार राति प्रधानमन्त्रीलाई भेटेर बिहीबार बिहान भारत फर्कनुभएको थियो ।

गोयलसँग प्रधानमन्त्रीको भेटलाई लिएर सत्तारुढ नेकपाभित्रै पनि आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया