‘डिजिटल बैंकिङलाई सुरक्षित बनाउने जिम्मेवारी ग्राहककाे पनि हाे’

 कात्तिक ७, २०७७ शुक्रबार १९:२३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोभिड १९ काे सङ्क्रमण बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकता दिएका छन् । त्यसाे त केही वर्षयता नेपालको बैंकिङ क्षेत्र डिजिटलमैत्री बन्दै गएको छ । विभिन्न वित्तीय प्रविधिहरुको प्रयोग गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरेका बैंकहरुले यस्तो कारोबार सुरक्षाका दृष्टिकोणले अन्तर्राष्ट्रियस्तरको भएको दाबी गरेका छन् ।

डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, पस मेसिन, क्युआर कोडलगायतबाट डिजिटल कारोबार गर्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई प्रोत्साहन गर्दै आएका छन् । कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा डिजिटल कारोबारलाई थप बढाउँदै जाने रणनीतिमा बैंक तथा वित्तीय संस्थाहरु देखिन्छन् ।

डिजिटल कारोबारमार्फत एक बैंकबाट अर्को बैंकको खातामा पैसा पठाउने, आफूलाई आवश्यक वस्तुहरुको किनमेल गर्ने, टेलिफोन, विद्युत्, खानेपानीलगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण बढ्दै गएको छ ।

बैंकहरुले डिजिटल कारोबार बढ्दै जाँदा यसलाई भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउन अपनाउनुपर्ने उपायहरु अवलम्बन गरिएको बताउँदै आएका छन् ।

ग्लोबल आईएमई बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख परमेश्वर श्रेष्ठले डिजिटल कारोबारलाई सुरक्षित सहज र व्यवस्थित बनाउन बैंकहरुले ठूलो लगानी गरिरहेको बताउनुभयो । त्यसबाहेक ग्राहकले पनि आफ्नो बैंक खाता नम्बर, पासवर्ड कसैलाई पनि नदिए डिजिटल बैंकिङ सुरक्षित हुने उहाँले बताउनुभयो । 

नियामक निकाय नेपाल राष्ट्र बैंकले विभिन्न समयमा दिँदै आएका निर्देशिका बमोजिम बैंकहरुले सुरक्षाका प्रावधानहरुलाई अद्यावधिक गर्दै गएको पनि देखिन्छ । त्यसैले पनि पछिल्लो समय नेपालको बैंकिङ सेवा अन्तर्राष्ट्रियस्तरको बन्दै गएको छ ।

सनराइज बैंकका डिजिटल विभाग प्रमुख प्रकाश पौडेलले पनि बैंकहरुले डिजिटल कारोबारमा दिँदै आएका सबै सुविधाहरु सुरक्षाको दृष्टिकोणले अन्तर्राष्ट्रियस्तरको भएको बताउनुभयो । 

यसबाहेक डिजिटल बैंकिङ कारोबारलाई सुरक्षित बनाउने जिम्मेवारी ग्राहकको पनि हो । आफूले लिएका कुनै पनि बैंकिङ सुविधाको प्रयाेगकर्ता नाम, पासवर्ड कुनै पनि माध्यमबाट कुनै पनि व्यक्तिलाई नदिन बैंकर्सहरुको सुझाव छ ।

ह्याकरहरुले विभिन्न माध्यमबाट विभिन्न प्रलोभन देखाइ ग्राहकहरुसँग बैंकले पठाएको कोड माग्ने गरेकोले त्यसतर्फ सचेत रहन पनि बैंकर्सहरुले आग्रह गरेका छन् । त्यसैले आधुनिक जमानाको बैंकिङ सुविधा उपभोग गर्दै गर्दा त्यसको सुरक्षाका लागि बैंक मात्रै नभएर व्यक्ति आफै पनि सचेत हुनुपर्ने देखिन्छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया