प्रधानमन्त्रीकाे ट्वीटमा प्रयाेग भएकाे नक्सामा सबै भाग देख्न सकिन्छ : सूर्य थापा

 कात्तिक ७, २०७७ शुक्रबार २०:२८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने उहाँका सल्लाहकारले बताउनुभएकाे छ ।

नक्साकाे सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक भएको र केही ठूलो आकारको त्यही नक्सामा सबै प्रष्ट देख्न सकिने जनाउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साकाे राजनीति र अफवाह फैलाउन खोजिएको जनाउनुभएको छ ।

सल्लाहकार थापाले शुक्रबार जारी गर्नुभएको प्रेस नोटमा लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साकाे औपचारिक प्रयोगका लागि संसद्को सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको बताइएकाे छ । साथै त्यही अनुरुप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्री ओलीकै दृढ र साहसिक नेतृत्वमा चालिएको विज्ञप्तिमा उल्लेख छ ।

'अहिले यस विषयमा योजनाबद्ध रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ । त्यस्तो कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावमा हार्दिक अनुरोध गर्न चाहन्छु' ,नोटमा भनिएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया