सुन्धारामा रहेकाे मदनी मस्जिदमा ताेडफाेड

 कात्तिक ८, २०७७ शनिबार १५:०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे सुन्धारामा रहेकाे मुसफिर मदनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान नचिनेका मानिसका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन् ।

एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ । निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद भत्काइएपछि काठमाण्डाैमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन् । मस्जिद परिसरमा भेटिनुभएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताउनुभयो । यसअघि पनि पटक–पटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताउनुभयो । 

यस्तै मस्जिद रहेको काठमाण्डाै महानगरपालिका वडा नं. २२ की वडा सदस्य गीता परियारले वडाध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैँ मस्जिद खाली गर्न धम्क्याउने गरेको बताउनुभयो । 

याे घटनाकाे मुस्लिम सङ्‍घले समेत विरोध गरेको छ । मुस्लिम सङ्घका अध्यक्ष अब्दुल सतारले याे घटना मस्जिदमाथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिममाथिको आक्रमण भएको बताउनुभयो । 

यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाइ प्रयोग गरिरहेका छन् । आजभन्दा एक सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरू काठमाण्डाै आउजाउ गर्दा नमाज पढ्ने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले चार प्रहरको नमाज पढ्न मुस्लिम समुदाय पुग्ने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया