दशैँ बिदामा पनि बजार अनुगमन, ११३७ मा गुनासो गर्न आग्रह

 कात्तिक ९, २०७७ आइतबार ८:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले दशैँको बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमन निरन्तर भइरहेको जनाएको छ ।

दशैँको चहलपहल र किनमेल बढेका बेला मौकाको फाइदा उठाएर व्यापारीले उपभोक्ता ठग्ने भएकाले अनुगमन नरोकिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार विभागले बजार अनुगमन निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा टोली बनाएको छ । टोलीले जुनसुकै समयमा पनि बजार अनुगमन गरेर अनुचित क्रियाकलाप गर्ने व्यापारीलाई कारबाही गर्नेछ ।

नियमित रुपमा पाँच/छ वटा टोलीले बजार अनुगमन गर्दै आएको तर आफूहरु ठगिएको उपभोक्ताको गुनासो पनि निरन्तर आइरहेको महानिर्देशक सुवेदीले बताउनुभयो । विभागका अनुसार नियमित तथा विभागमा आएका गुनासाका आधारमा काठमाण्डौ उपत्यकामा विभिन्न ठाउँमा अनुगमन टोली परिचालित भएका छन् ।

महानिर्देशक सुवेदीले यसअघि देखिने गरी अनुगमनमा जाने गरेकामा दशैँका बेला कर्मचारी नै उपभोक्ताको रुपमा अनुगमनमा निस्कने उहाँले बताउनुभयो । साथै उहाँले सचेत तथा जिम्मेवार उपभोक्तालाई कुनै व्यापारीबाट मौका छोपेर कालोबजारी वा अनुचित व्यापारिक क्रियाकलाप भएमा टोल फ्री नम्बर ११३७ मा गुनासो गर्न आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया