बजार खोजौँ, माग भएका ठाउँमा पुर्‍याउन सके छिट्टै फुले पनि खेर जाँदैन सयपत्री

 कात्तिक ९, २०७७ आइतबार १०:३७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यसपालि तिहारअघि नै बारीमा ढकमक्क सयपत्री फुलिसकेका छन् । तिहार नआउँदै फूलले बारी ढाकिएपछि किसान कसरी लगानी उठाउने भन्ने चिन्तामा छन् । तर पुष्प व्यवसायी भने किसानले आफ्नो फूल बिक्री गर्न चाहे अहिले पनि राम्रो आम्दानी गर्न सक्ने बताउँछन् ।

बजारको मागअनुसारको फूल उत्पादन र उत्पादन भएका सयपत्रीलाई माला गाँसेर बजार पुर्‍याउन सके बिक्री हुने फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अध्यक्ष  कुमार कसजू श्रेष्ठले बताउनुभयो । अहिले कोरोना भाइरसको महामारीका कारण व्यवसायी र ग्राहक किसानको खेतबारीमा नै पुग्न सक्ने अवस्था नरहेकोले माग भएका ठाउँमा सयपत्री पुर्‍याउन किसानलाई चुनौती भने छ ।

तर नजिकैका शक्तिपीठ, मन्दिर र साजसज्जा गर्ने ठाउँमा पुर्‍याउन सके अहिले फूलेको सयपत्रीबाट राम्रो कमाइ हुने उहाँले बताउनुभयो । फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठका अनुसार बजारमा सयपत्रीको एउटा मालाको थोक मूल्य ४० देखि ४५ रुपैयाँ छ ।

माला गाँस्दा एकनासका फूलको डाँठ नदेखाइकन एक मिटर लामो गाँस्न उहाँको सुझाव छ । किसान आफैँले बजारसम्म पुर्‍याए सयपत्री खेर नजाने उहाँको भनाइ छ ।

यस्तै, अहिले बजार नपाए पनि शीत भण्डारणमा सयपत्रीलाई राखे तिहारमा बिक्री गर्न सकिने पुष्प व्यवसायीले बताएका छन् । अहिले बजारमा दैनिक सातदेखि १० हजार वटा मालाको बजारमा माग छ । माग भएकै कारण भारतबाट दैनिक १० हजार रुपैयाँको फूल काठमाण्डौ आयात भइरहेको फ्लोरिकल्चर एसोसिएशन अफ नेपालले जनाएको छ । एसोसिएशनले अहिले भारतका उत्पादनलाई रोकी स्वदेशी फूलको कारोबारमा जोड दिँदै आएको छ ।

यसपालि नेपालमा १२ देखि १५ लाख वटा माला बनाउन पुग्ने सयपत्री उत्पादन हुने अनुमान छ । पोहोर १८ लाख वटा माला पुग्ने फूल उत्पादन भएको थियो । कोरोनाका कारण फूल खेतीमा असर परेको हो । नेपालमा एक सय ५७ हेक्टर जमिनमा फूल खेती हुँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया