लमजुङको स्याँगे झरनामा ‘वाटरफल जिपलाइन’ निर्माण

 कात्तिक ११, २०७७ मंगलबार २०:३७:३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ–बेसीशहर–चामे सडकखण्डको नजिकै पर्छ, लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा रहेको स्याँगे झरना । बाह्रै महिना चिसो पानीसहितकाे झरना पर्यटकको रोजाइमा पर्दै आएको छ । स्याँगे झरनाको शितलताका साथै वरपरको मनमोहक प्राकृतिक सौन्दर्यमा टहलिन पाउँदा पर्यटकहरु आनन्दित हुन्छन् ।

बेसीशहर हुँदै मनाङसम्म पुग्ने पर्यटकहरु पनि सडकखण्ड आडैमा पर्ने भएकाले एकचोटी भए पनि झरनासम्म पुगेर तस्बिर खिच्न, झरनाको सौन्दर्यमा रमाउन लालायित हुन्छन् । त्यसो त आन्तरिक पर्यटकहरु पनि स्याँगे झरनालाई नै पर्यटकीय गन्तव्य बनाएर त्यहाँ पुग्ने गर्दछन् ।

पर्यटन प्रवर्द्धनका लागि जिपलाइन

स्याँगे झरनामा पर्यटकको थप आकर्षण बढाउनका लागि अहिले ‘वाटरफल जिपलाइन एड्भेन्चर’ निर्माण गरिएको छ । 

पहिलदखि नै पर्यटकको रोजाइमा पर्दै आएको स्याँगे झरनामा पर्यटकको थप आकर्षण बढाउनुका साथै पर्यटन प्रवर्द्धनका लागि जिपलाईन निर्माण गरिएको मर्स्याङ्दी गाउँपालिका–४, का वडाअध्यक्ष सुमन गुरुङले बताउनुभयो ।
उहाँका अनुसार मर्स्याङ्दी गाउँपालिकाको ५ लाख, अपर स्याँगे जलविद्युत आयोजनाको २ लाख (जिपलाइन निर्माणका लागि केवल उपलब्ध)का साथै स्थानीय श्रमदान समेत गरी झण्डै साढे ८ लाखको लागतमा ‘वाटरफल जिपलाइन’ निर्माण गरिएको हो ।

उहाँका अनुसार स्याँगे झरनाको वारपार केवल (डोरी) टाँगिएको छ । जिपालाइनको कुल लम्बाई १ सय ३० मिटर रहेको छ । तीन ठाउँमा ‘ब्रेकर’ राखिएको छ । उहाँका अनुसार ‘जिप फ्लाएर’ले हार्नेस बाँधेर घिर्निका माध्यमबाट जिपलाइनका माध्यमबाट वारपार गर्छन् ।

जिपलाइन पर्यटकको आकर्षणमा पर्नुका साथै यसले सिंगो गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो ।

‘स्याँगे झरनामा निर्मित जिपलाइनले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हाम्रो विश्वास छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार यस झरनामा विभिन्न समयमा साहसिक ‘क्यानोनिङ’ समेत हुँदै आएको छ । 

जिपलाइनको सफल परीक्षण

नवनिर्मित जिपलाइनको सफल परीक्षण समेत भइसकेको छ । कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितीका कारण व्यवसायिक रुपमा सञ्चालन हुन नसकेको तर सहज परिस्थिति सिर्जना भएसँगै व्यवसायिक रुपमा जिपलाइन सञ्चालन गरिने वडाअध्यक्ष गुरुङले बताउनुभयो ।

‘जिपलाइन निर्माण सम्पन्न हुनुका साथै सफल परीक्षण समेत भइसकेको छ । सहज परिस्थिति सिर्जना भएसंगै व्यवसायिक ढंगले जिपलाइन सञ्चालन गर्ने लक्ष्य छ,’ उहाँले थप्नुभयो ।

सरोकारवालासँग छलफल गरी एक समिति निर्माण गरी ‘जिप फ्लाएर’बाट निश्चित शुल्क लिने र संकलित शुल्क जिपलाइनको मर्मत–सम्भार, संरक्षणमा खर्च गर्ने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।

उहाँका अनुसार दशैँको नवमी र दशमीका दिनमा गरी झण्डै ७० जना स्थानीयले जिपलाइनबाट वारपार गरेका थिए । 

 


 

अन्तिम अपडेट: चैत १३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया