यूरोपमा कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको संख्या ४० प्रतिशतले बढ्यो

 कात्तिक १२, २०७७ बुधबार ६:४१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - यूरोपमा कोरोना भाइरसको सङ्क्रमणका कारण दैनिक ज्यान गुमाउनेको संख्या एक हप्तामै ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।

फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्ड र रुसमा सङ्क्रमितको संख्या एक तिहाइले बढेको र ज्यान गुमाउनेको संख्या झण्डै ४० प्रतिशतले बढेको डब्ल्यूएचओकी प्रवक्ता डाक्टर मारगेरेट ह्यारिसले बताउनुभयो ।

उहाँले यूरोपमा खतराको घण्टी बज्न लागेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवा राम्रा भएका देशमा अस्पतालको क्षमताभन्दा धेरै बिरामी भर्ना भइरहेका पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले यूरोपका विभिन्न देशले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि लागू गरेका नयाँ प्रतिबन्धले सङ्क्रमितसँगै ज्यान गुमाउनेको संख्या घट्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

त्यसको लागि दुई हप्ता समय लाग्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया