बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

 कात्तिक १३, २०७७ बिहिबार १३:३०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण सुरु गर्दैछ ।

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण सुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा अपराह्न २ बजे सुरु हुनेछ । प्रशिक्षणका लागि खेलाडी काठमाण्डौ आइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

एन्फाले खेलाडीलाई त्रिपुरेश्वरमा रहेकाे वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई अनुमति दिइसकेको छ । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमा रहेका कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । नेपालले बङ्गलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकामा रहेकाे बङ्गबन्धु रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण खेल आउँदाे मङ्सिर २ गते हुने एन्फाले जनाएको ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।   
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया