प्लाज्मा थेरापीका लागि कोरोनामुक्त प्रदेश सांसदसहितले गरे रक्तदान

 कात्तिक १३, २०७७ बिहिबार २०:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – कोरोना सङ्क्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको प्लाज्मा थेरापीका लागि सहयोग पुर्‍याउन वाग्मती प्रदेशका सांसदसहितको टोलीले बिहीबार रक्तदान गरेका छन् । 

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखामा पुगेर वाग्मती प्रदेश सभा सदस्य एवं भक्तपुरको सूर्यविनायक नगरपालिका १ को सिरुटारका शशीजंग थापा, औषधि व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष नारायणप्रसाद भुषाल र पत्रकार लीला श्रेष्ठले प्लाज्मा दानका लागि एकैसाथ रक्तदान गरेका हुन् । 

रक्तदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सभा सदस्य थापाले कोरोना सङ्क्रमण भएर निको भएकाको रगतको प्लाज्माले सङ्क्रमित गम्भिर बिरामीका लागि जीवनदान बन्न सक्ने भएपछि प्लाज्मा दानका लागि रक्तदान गरेको बताउनुभयो । 

प्रदेश सभा सदस्य थापाले भन्नुभयो, ‘सङ्क्रमण निको भएकाले आफ्नो रगत त्यतिकै खेर जान दिनु भन्दा मृत्युसँग जुधिरहेका सङ्क्रमितको ज्यान बचाउनु उपयुक्त भनेर प्लाज्मा दानका लागि रगत दिएको हुँ, कोरोना सङ्क्रमण भएर निको भइ स्वस्थ्य रहेका सबैलाई प्लाज्माका लागि रक्तदान गर्न आह्वान गर्दछु ।’ 

कोरोना भाइरसको औषधि र खोप पत्ता नलागेको अवस्थामा सङ्क्रमण भएर निको भएकाको रगतको प्लाज्मा गम्भीर सङ्क्रमितका लागि जीवनदान हुने भएकाले अरुलाई प्रेरणा मिलोस् भनेर नै रक्तदान गर्न आएको उहाँको भनाइ छ । सङ्क्रमितले भोग्ने पीडा र कोरोनासँग जुध्दा सकस भोग्नेलाई मात्रै थाहा हुने भन्दै उहाँले सङ्क्रमण निको भएका आफूले चिनेका व्यक्तिलाई पनि प्लाज्माका लागि रक्तदान गर्न पठाउने बताउनुभयो ।  

प्लाज्माका लागि रक्तदान गर्नुभएका औषधि व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष भुषालले कोरोना सङ्क्रमण भएर रिपोर्ट नेगेटिभ आएका शिक्षित वर्गले नै रक्तदान गर्न हिचकिचाउनु नहुने भन्दै रक्तदान गर्न आह्वान गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले रेडक्रसले प्लाज्मा थेरापीका लागि रक्तदान अभियान नै सुरु गरेको बताउँदै सङ्क्रमितका लागि प्लाज्मा उपलब्ध गराउन माग बढेकाले रक्तदान गर्न आह्वान गर्नुभयो । 

गएको भदौ २१ गतेदेखि सङ्क्रमण निको भएका स्वस्थ्य व्यक्तिको रगत सङ्कलन सञ्चालन गरेको बताउँदै उहाँले     प्लाज्मा थेरापीका लागि रगत दिने व्यक्तिलाई घरसम्मै रेडक्रसले सवारी साधन लिएर लिन जाने र भक्तपुर रेडक्रसको रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) मा रगत सङ्कलन गरी प्लाज्मा छुट्याएर सङ्क्रमित बिरामीलाई उपलब्ध गराउने गरेको जानकारी दिनुभयो । 

भक्तपुरमा अहिलेसम्म नौ जना कोरोना सङ्क्रमण निको भएकाले प्लाज्माका लागि रक्तदान गरेको जानकारी दिँदै सभापति थापाले भन्नुभयो, ‘कोरोना भाइरस सङ्क्रमण निको भएको १५ दिन पूरा भएकाको रगतमा रोग प्रतिरोधी क्षमता विकास भइसक्ने भएकाले उनीहरुको रगतमा भएको प्लाज्मा अर्को सङ्क्रमित व्यक्तिलाई प्रदान गर्दा गम्भीर अवस्थामा पुगेका सङ्क्रमितलाई निको पार्न अभियान सुरु गरेका हौँ ।’ 

निको भएका कोरोना सङ्क्रमित र उनीहरुको परिवारलाई मनोपरार्श दिएर जीवनदानमा अग्रसर रहन प्रेरणा दिनुपर्ने आवश्यकता रहेको सभापति थापाको भनाइ छ । रेडक्रसले प्लाज्मा थेरापीका लागि रक्तदान गर्ने दाताहरुलाई रक्तदानपछि पौष्टिक आहार प्रदान गर्ने तयारी गरेको छ । भक्तपुर रेडक्रसमा दैनिक चारदेखि पाँच जना कोरोना सङ्क्रमितका परिवार र आफन्तले प्लाज्मा थेरापीको लागि रगत उपलब्ध गराइदिन सम्पर्क गर्ने गरेका छन् । 

कोरोना सङ्क्रमित निको भएका व्यक्ति र परिवारलाई उसको एक पिन्ट रगतले अर्को सङ्क्रमितको ज्यान बचाउन उपयोगी हुने र एक पिन्ट रगत झिक्दा उसको स्वास्थ्यमा कुनै असर गर्दैन भनेर विश्वस्त पार्न सके प्लाज्मा थेरापीका लागि रगतको अभाव नहुने रेडक्रमको भनाइ छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया