विशेषज्ञ सेवा विस्तार गर्दै राप्ती स्वास्थ्य प्रतिष्ठान : नेत्र विशेषज्ञ अध्ययनको बारेमा सम्भाव्यता अध्ययन सुरु

 कात्तिक १३, २०७७ बिहिबार २०:४२:३८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आँखाको सेवा विस्तार गर्ने भएको छ । सेवा विस्तारको बारेमा प्रतिष्ठानकी उपकुलपति प्रा. डा. संगीता भण्डारीसहितका पदाधिकारीले नेपाल नेत्र ज्योति सङ्घका पदाधिकारी र सदस्यबीच छलफल गरेकाे छ ।

आँखाको उपचारको लागि सेवा विस्तार गर्ने उद्देश्यले उपकुलपति भण्डारीकै अगुवाइमा छलफल भएको हो । आँखा रोगको सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि प्रतिष्ठानबाटै आँखाको विशेषज्ञ सेवा दिने तयारी सुरु भएको हाे ।

आँखाको सेवा विस्तारका लागि आँखा रोग विशेषज्ञ सर्जन प्रज्ञा बस्नेतलाई प्रतिष्ठानमा आँखाको डिपार्टमेन्ट अघि बढाउने गरी सम्पूर्ण सम्भाव्यता अध्ययन गर्ने गरी जिम्मेवारी प्रतिष्ठानले दिएको छ । आँखामा चोट लागेपछि त्यसको उपचारका लागि बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता रहँदै आएको थियो ।

विशेषज्ञ सेवा सुरु भएमा आँखाको सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया प्रतिष्ठानमै हुनेछ । छलफलमा उपकुलपति भण्डारीले मेडिकल कलेजको तयारी भइरहेकै कारण याे योजनाअनुसार नै आँखाको सेवा विस्तारको तयारी भइरहेको बताउनुभयो । सेवा बिस्तारका लागि सबै तयारी अघि बढाउन पनि उहाँले प्रतिष्ठान मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो ।

साथै उपकुलपति भण्डारीले लामो समयदेखि अस्पतालमा आँखाको उपचारका लागि सहयोग गर्दै आएको नेत्र ज्योति सङ्घलाई प्रतिष्ठानको आँखाको सेवा बिस्तारका लागि योजनासहित आएमा प्रतिष्ठानले प्राविधिक सहयोग सबै गर्न तयार रहेको भन्दै यदि संस्थाले त्यो काम गर्न नसक्ने भएमा प्रतिष्ठानले आफै पनि आँखाको सेवा विस्तारका लागि पहल गर्ने बताउनुभयो ।

छलफलमा नेत्र ज्योति सङ्घका अध्यक्ष कृष्ण गिरीले आँखाको सेवा विस्तार गर्ने प्रतिष्ठानको योजना राम्रो भएको भन्दै संस्थाले आफै गर्ने वा प्रतिष्ठानलाई सहयोग गरेर जाने विषयमा संस्थामा छलफल गरेर मात्रै धारणा तय हुने बताउनुभयो । छलफलमा सङ्घको तर्फबाट सुरेन्द्र खड्का, किरण कुमार रेग्मी सहभागी हुनुहुन्थ्यो भने प्रतिष्ठानको तर्फबाट उपकुलपति भण्डारीसहित आँखा रोग विशेषज्ञ सर्जन प्रज्ञा बस्नेतको उपस्थिति रहेको थियो ।

नेत्र विशेषज्ञ सर्जन बस्नेतले आफू किस्ट मेडिकल कलेजमा कार्यरत रहेको र आँखाको सेवा विस्तारको सम्भाव्यता अध्ययन गर्न प्रतिष्ठानमा आएको बताउनुभयो । उहाँले सुरुमा पूर्वाधार बलियो बनाएर लैजानुपर्ने आवश्यक्ता रहेको र सबै सम्भाव्यता अध्ययन गरेर नेत्र विशेषज्ञ सेवा दिन सकिने बताउनुभयो । 

बस्नेतले नेत्र विशेषज्ञ सेवा विस्तारसँगै निकट भविष्यमा आँखाकै एमबीबीएस र आवश्यक अन्यकाे अध्ययन पनि गरिने बताउनुभयो । साथै उहाँले विगत चार वर्षदेखि यहाँ नेत्र विशेषज्ञ नहुँदा आँखाको अप्रेशन हुन नसकेको र अब विशेषज्ञ सेवा सुरु भएमा आँखाको सबैखाले उपचार प्रतिष्ठानमा हुने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया