कोरोनाको डर र चाडपर्वको रहर हुँदाहुँदै रोजगारीको लागि भारत जानेको लर्को

 कात्तिक १८, २०७७ मंगलबार ८:३९:६ | सीताराम ओझा
unn.prixa.net

कैलाली - हिजोआज कञ्चनपुरको त्रिनगर-गौरीफन्टा नाकामा भारत प्रवेश गर्नेहरुको लामो लाइन देखिन्छ । 

केहीदिन अघिसम्म यही नाकामा दशैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । अहिले दशैँको टीकासमेत नसकिंदै रोजगारीका लागि भारत पस्नेहरुको लर्को लाग्न थालेको हो ।

भारत जानेहरुको लाइनमा कैलाली मोहन्यालका शिवराज गौतम पनि भेटिनुभयो । उमेर २१ वर्ष मात्र पुग्नु भएका गौतम रोजगारीको लागि भारत जान थालेको ६ वर्ष भइसकेको छ । ‘घर परिवारसँगै दशैँ मनाउनका लागि स्वदेश फर्किएको थिएँ’ उहाँले भन्नुभयो, ‘घर खर्च चलाउनकै लागि दशैँको टीका सकिनेबित्तिक्कै रोजगारीको लागि भारत जाँदैछु ।’’

अछामको मंगलसैन नगरपालिकाका रुपबहादुर रावल पनि त्रिनगर-गौरीफन्टा नाका भएर भारत जानेहरुको लाइनमा भेटिनुभयो । ‘कोरोनाको प्रभावपछि रोजगारी गुमेपछि घर फर्किएको थिएँ’ उहाँले भन्नुभयोे, ‘फेरि अरु कामको खोजीमा नै भारत जान लागेको हुँ ।’ 

भारत जान कोही धनगढी बसपार्कका होटलमा टिकट लिने हतारोमा छन् त कोही गौरीफन्टा नाकामा लामबद्ध उभिएका छन् । दशैँ सकिएर तिहार आउनै लाग्दा भारत जानु उनीहरुको रहर त थिएन । तर दुई चार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता छ । 

भारत जान धनगढी बसपार्कमा टिकट काट्दै गर्नुभएका कैलालीको लम्कीचुहा नगरपालिकाका भिमबहादुर कार्कीले परिवारको दैनिकी चलाउन भारत जानु परेको बताउनुभयो । ‘खान लाउन केही छैन’ उहाँले भन्नुभयो, ‘घरमा बसेर खान पुग्दैन । तिहार पनि आउन लागेको छ । सानोतिनो कमाइ हुन्छ कि भनेर जान लागेको हुँ ।’ कोरोनाका कारण स्वदेश भित्रिएका सुदूरपश्चिमका बासिन्दा फेरि यसैगरी भारत फर्किन बाध्य भएका छन् । कतिपय दशैँ अघि नै भारत गए ।

धेरै दशैंको टीका लगाएर मुग्लान गइरहेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना कहरले घर फर्किएका सुदूरपश्चिमेलीलाई यतै रोजगारी सिर्जना गर्ने बाचा गर्नु भएको भए पनि त्यो कार्यान्वयन नहुँदा चाडपर्वको बीचमा दैनिक हजारौं सुदूरपश्चिमेलीहरु भारत जान बाध्य छन् । स्थानीय स्तरमा रोजगारीका अवसरहरु प्रर्याप्त नहुँदा चाडपर्व नसर्किदै भारत पस्नु परेको धेरैको दुखेसो छ । 

कोरोनाको त्राससँगै प्रभावका कारण स्वदेश फर्किएकाहरु घरमा बस्दा घर खर्च चलाउनै मुश्किल भएपछि फेरि जोखिम मोलेरै भारत जान बाध्य छन् । सुदूरपश्चिमका दुई नाका गड्डाचौकी र त्रिनगर-गौरीफन्टा भएर मात्रै दैनिक एक हजारभन्दा बढी मानिस भारत गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । ‘कञ्चनपुरका दुई नाका भएर दिनमा एक हजारको हारहारीमा भारत गइरहेका छन् । भारत जानेहरु रोजगारीकै लागि गएका हुन्’ उहाँले भन्नुभयो । 

दशैँको टीका सकिएर भारत पस्नेहरु मध्ये कतिपय वर्षौंदेखि उतै रोजगारीमा भएकाहरु भए पनि अधिकांश भने नयाँ रोजगारीकै लागि गइरहेका छन् । स्थानीय र प्रदेश सरकारले रोजगारीका अवसरहरु सिर्जना गर्दै भारत पस्नेहरुको संख्या घटाउने दाबी गर्दै आए पनि आम नागरिकको समस्याप्रति गम्भीर नबनेको आरोप लाग्ने गरेको छ । 

‘पारिवारिक समस्या छ । घरको जेठो छोरो भएकोले घरतिर हेर्ने पर्यो’ कञ्चनपुरका उदय खत्रीले भन्नुभयो-‘एक सालको तिहार आफूले नमनाउँदैमा के हुन्छ र ? तिहारसम्म केही पैसा पठाउन सक्छु भन्ने लागेर जान लागेको हो । कमसेकम घरमा दिदी बहिनीले त तिहार रमाइलो गरी मनाउँछन् ।’ 

केही वर्ष पहिले यतिबेला भारतबाट नेपाल आउने नागरिकको संख्या बढी हुने गरेको भए पनि अहिले भारत जानेको संख्या बढी छ । भारतका विभिन्न सहरमा कामका लागि जाने युवा, वयस्क, महिलादेखि वृद्ध उमेरसम्मका नागरिकहरु गौरीफन्टा नाकामा भेटिने गरेका छन् ।

‘घरमै बसेर भोकै मर्नू छैन । रोजगारी नेपालमा छैन’  टीकापुरका नरे कामीले भन्नुभयो, ‘घरमा छोरा बुहारी चार नाति नातिनी छन् । उनीहरुलाई त पाल्नै पर्यो । एउटा खुशीले होइन जानुपर्ने बाध्यता छ ।’ देशमा तीन तहका सरकार भए पनि आफूहरुको समस्या कसैले पनि नबुझेको दुखेसो भारत जानेहरुको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण स्वदेश भित्रिएका र बेरोजगारलाई स्वदेशमै नै व्यवस्थापन गर्ने गरी नीति कार्यक्रम तथा बजेटमा प्रशस्त योजना समेटेको बारम्बार बताउँदै आएको छ । तर त्यो कार्यान्वयन हुन सकेको छैन् । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगारलाई रोजगारी सिर्जना गर्ने, अनुदान दिने, आफैँ उद्यमी हुन चाहनेहरुका लागि ऋण तथा सहुलियतको व्यवस्था गर्ने दाबी छोड्नु भएको छैन । 

‘विकास निर्माणका कामहरु अगाडि बढेका छन् । विकाससँग श्रमलाई जोडेर सहयोग गर्ने भनेर सबै कुराहरु हामीले बजेटमा समावेश गरेका छौं । सबै मन्त्रालयहरुले यसको नीति र विधि बनाइरहेका छन् । अब हामी यसलाई छिट्टै लागू गर्छौं’ मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘कोही कृषि गर्न चाहन्छ, कोही पर्यटन गर्न चाहन्छ, कोही व्यवसाय गर्न चाहन्छ ।  भए सम्भव भएसम्म यहीँ नै रोजगारी सिर्जना गर्ने भनेर प्रदेश सरकार लागिरहेको छ । त्यसका लागि अगाडि बढिरहेको छ ।’ 

आफैं भारतमा जीवनको उर्जावान समय बिताउनुभएका प्रदेशका मुख्यमन्त्री भट्टले मुख्यमन्त्री हुँदादेखि नै रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गर्दै आउनु भएको छ । तर उहाँ मुख्यमन्त्री भएको ३ वर्ष लाग्दा समेत अहिलेसम्म स्वदेशमै रोजगारीको ग्यारेन्टी हुन सकेको छैन । त्यसैले यहाँका बासिन्दाले मुख्यमन्त्रीको भाषणमा विश्वास गर्ने छोडिसके । तर मुख्य मन्त्री भट्टले भने अझै रोजगारीको आश्वासन दिन छोड्नु भएको छैन ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                             

अन्तिम अपडेट: बैशाख २, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया