गाई चराउने चउरमा परिणत भएकाे काँगेल डाँडा विमानस्थल फेरि सञ्चालनमा आउने

 कात्तिक २१, २०७७ शुक्रबार २०:२९:५० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गर्ने बताउनुभएको छ । शुक्रबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ मा रहेको काँगेल डाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री भट्टराईले सम्पूर्ण पर्यटकीय गतिविधि खुला गर्ने तयारीमा रहेको बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्दै पर्यटकीय गतिविधि खुला गर्ने उहाँको भनाइ छ । कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्रलाई सामान्यीकरण गर्नेतर्फ नेपाल सरकार लागिपरेको भन्दै उहाँले नेपालको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन तीव्र गतिमा कार्यक्रम ल्याउने आश्वासन दिनुभयो ।

यस्तै मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षको रुपमा अघि बढाइने भन्दै कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।

मङ्सिर दोस्रो हप्तादेखि विमानस्थल फेरि सञ्चालमा ल्याउने आश्वासन 

पर्यटनमन्त्री भट्टराईले मङ्सिर दोस्रो हप्तादेखि काँगेल डाँडा विमानस्थल फेरि सुरु गर्ने आश्वासन दिनुभयो । शुक्रबार बिहान हेलिकप्टरमार्फत विमानस्थलको स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री भट्टराईले काठमाण्डाै फर्किएपछि सम्बन्धित पक्षसँग छलफल गरी इच्छुक एअरलाइन्सलाई उडान अनुमति दिने बताउनुभयो ।  

झण्डै पाँच वर्षदेखि पूर्णरुपमा बन्द रही गौचरनमा परिणत भएको विमानस्थलमा अब कम्तीमा पनि हप्ताको एक दिन उडान थाल्ने र यात्रुको चापअनुसार बढाउन सकिने उहाँले बताउनुभयो । विमानस्थल सञ्चालनको लागि पालिकासँग समन्वय गरेर सञ्चालन मापदण्ड तयार पार्ने उहाँकाे भनाइ छ । 

यही विमानस्थल परिसरमा भएको कार्यक्रममा सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई ‘सुरवीर’ले आफूहरुको लामो प्रयासपछि मन्त्रीज्यूको निरीक्षणले अवसर जुरेको भन्दै दिगोरुपमा सञ्चालनका लागि उपयुक्त मापदण्ड निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय नागरिकको मागअनुसार विमानस्थलको स्तरोन्नति गर्ने र सेवालाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

यस्तै प्रदेश सभा सदस्य एमं प्रदेश १ नेकपा संसदीय दल प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले तीनै तहको सरकारको अनुदानबाटै भए पनि विमानस्थललाई नियमित सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । काठमाण्डाै–काँगेल र विराटनगर–काँगेल नै सञ्चालनमा ल्याउने कोसिस गर्नुपर्ने भन्दै ती मध्ये पनि जुन उपयुक्त हुन्छ त्यही उडान गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रदेश सभा सदस्य उत्तम बस्नेतले गाउँगाउँमा सडक पुगेसँगै काँगेलडाँडा विमानस्थल सञ्चालनको बलियो आधार बन्दै गएको बताउनुभयो । राज्यको करोडौँ लगानीमा निर्माण भएको विमानस्थल निरन्तर सञ्चालन गर्न सकेको खण्डमा ग्रामीण क्षेत्रका नागरिकले नै बढीभन्दा बढी लाभ लिन सक्ने उहाँकाे भनाइ छ । 

नेकपा सोलुुखम्बुका अध्यक्ष मानवीर राईले विमानस्थल स्तरोन्नति र नियमित सञ्चालन गर्ने सवालमा सकरात्मक भएको बताउनुभयो । कार्यक्रममा बोल्दै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले विमानस्थल फेरि सञ्चालनको लागि पालिका साझेदारी गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । मङ्सिरदेखि जसरी भए पनि उडान भर्ने भन्दै उहाँले त्यसअघि नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको टोली ल्याएर अनुगमन गराउने र आवश्यक सुधारको काम गरी उडान सुरु गर्ने बताउनुभयो ।

२०५२ सालमा निर्माण सुरु भएको विमानस्थलमा २०६२/०६३ देखि उडान सेवा सुरु भएको थियो । २०७२ सालसम्म नेपाल एअरलाइन्स र तारा एअरले उडान भर्दै आएको विमानस्थलमा उडान बन्द भएपछि सुरु गर्न अहिले पहल भइरहेकाे हाे । 

महाकुलुङको डीपीआर छिट्टै

काँगेलडाँडा विमानस्थलको स्थलगत अध्ययनपछि मन्त्री भट्टराईले महाकुलुङमा निर्माण हुन लागेको विमानस्थलको समेत निरीक्षण गर्नुभएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन पास भएको त्यस विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम पनि छिट्टै हुने उहाँले बताउनुभयो ।

आउँदाे आर्थिक वर्षको बजेटमा विमानस्थललाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री भट्टराईले तेन्जिङ हिलारी विमानस्थलको विकल्पको रुपमा गुदेलमा निर्माण हुन लागेको विमानस्थललाई लिइने बताउनुभयो । पर्यटकको चाप बढ्दै जाँदा तेन्जिङ हिलारी विमानस्थलले थेग्न नसक्ने हुँदा महाकुलुङमा निर्माण हुने विमानस्थल महत्त्वपूर्ण मन्त्री भट्टराईकाे भनाइ छ । विमानस्थलको सञ्चालनपछि मेरापिक, भोजपुरबाट सुरु भएको मन्दुम ट्रेल पदमार्गमा आउने पर्यटकलाई समेत सहज हने मन्त्री भट्टराईले बताउनुभयाे । 

महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले महाकुलुङ विमानस्थल त्यस क्षेत्रका नागरिकको जीवनस्तरसँग जोडिएको हुनाले द्रूत गतिमा निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभयो । अध्यक्ष किराँतीले मन्त्री भट्टराईलाई महाकुलुङ ताल, कुलुङ सांस्कृतिक सङ्ग्रहालय, मेरापिक रुटमा पर्ने वातेल्मा र लुक्तुम्मा, रक क्लाइम्बिङ सेन्टर, केबलकारको सम्भाव्यता अध्ययनका लागि महाकुलुङ पदमार्गलगायतका ठूला विकासका आयोजनामा बजेट व्यवस्थापनका लागि माग पत्र बुझाउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया